२० पुष, एजेन्सी । पछिल्लो समय इरान र अमेरिका युद्धोन्मुख भएका छन् । अमेरिकाले इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीच तनाव चर्किएको छ । ईरानले यो आपराधिक कार्यको बदला लिने उद्घोष गरेको छ भने अमेरिकाले ईरानका विभिन्न ५२ ठाउमा आक्रमणका लागि निशाना बनाइरहेको उल्लेख गरेको छ ।

जसका कारण मध्यपूर्वमा ठूलै युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ । कतिपयले त अव तेस्रो विश्वयुद्ध हुनसक्ने आँकलनसमेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । इरान समर्थित प्रदर्शनकारीले इराकको बगदादमा रहेको अमेरिकी दुतावामा आक्रमण गरेपछि अमेरिकाले ईरानी सैन्य कमाण्डर सुलेमानीको हत्या गरेको थियो । जसका कारण यो हप्ता अमेरिका र ईरानबीचको तनाव बढेको हो ।

दुई देशबीच युद्ध भएमा विशेषगरी खाडी क्षेत्रमा ठूलो संख्यामा हतहाती र विनाशको डर पैदा भएको छ । जसले नेपाललाई पनि ठूलो क्षति पुर्याउन सक्ने अनुमान छ । नेपालको भूभाग र नेपाली नागरिकमाथि सिधा आक्रमण नभई नेपालको अर्थतन्त्रमा यसको असर देखिनेवाला छ । नेपालका लाखौं युवा कमाउनका लागि खाडी मुलुकमा पसिना बगाइरहेका छन् । उनीहरुले पठाएको पैसा (रेमिट्यान्स) बाटै मूलुक चलिरहेको छ । अर्थशास्त्रीहरुका अनुसार यदि ईरान र अमेरिकाबीच युद्ध भयो भने विश्वब्यापी रुपमा उर्जाको मूल्यमा प्रभाव पर्नेछ ।

नेपालसहित रेमिट्यान्सबाट चलिरहेका दक्षिण एशियाली मुलुकको अर्थव्यवस्था डामाडोल हुनेछ । साउदी अरब, कुवेत, कतार, युएई, ओमन र बहराइनमा काम गर्ने दक्षिण एशियाली नागरिक २ करोडभन्दा धेरै छन् । उनीहरुले गत वर्ष १ खर्ब ३१ अर्ब अमेरिकी डलर घर पठाएका थिए । विदेशमा काम गरिरहेका ४० लाख नेपालीमध्ये १५ लाख नेपाली खाडी मुलुकमा मात्रै छन् । खाडी मुलुकमा पनि सबैभन्दा धेरै ६ लाख नेपाली युवा कतार र साढे ३ लाख साउदी अरबमा छन् भने बाँकी अन्य खाडी देशमा काम गरिरहेका छन् ।

वैदेशिक रोजगारीबाटै बार्षिक ६ अर्ब ५० करोड डलर रेमिट्यान्स नेपाल भित्रिरहेको छ । विशेषज्ञहरु भन्छन्, यदि भविष्यमा युद्ध भइहाल्यो भने दक्षिण एशियाकै अर्थतन्त्र नराम्ररी प्रभावित हुनेवाला छ । आर्थिक मात्रै होइन नेपालको पर्यटन क्षेत्रमा पनि युद्धको असर पर्नेछ । नेपालले सन् २०२० लाई भ्रमणवर्षका रुपमा मनाउँदै यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । तर पश्चिमा मुलुकबाट नेपाल आउने अधिकांश हवाइ जहाज खाडीक्षेत्रको रुट हुँदै आउने गर्दछन् । त्यसैले मध्यपूर्वमा मडारिएको युद्धको बादल यथार्थमा परिणत भएमा नेपाल आर्थिक संकटमा फस्ने संकेत देखिएको छ ।