२ साउन, काठमाडौ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले आज अपराह्न उनकै कार्यकक्षमा भेटवार्ता गरे ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका सह सचिव एवम् युरोप–अमेरिका महाशाखाका प्रमुख अमृतबहादुर राईले जानकारी दिए ।

संविधानसभा निर्वाचनको तयारीबारे राजदूत बोडीले जिज्ञासा राख्नुभएको र निर्धारित मितिमा चुनाव सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरेको जानकारी अध्यक्ष रेग्मीले दिए ।

हालै विदेश मन्त्रालयबाट फर्कनुभएका राजदूत बोडीले संविधानसभाको निर्वाचनमा अमेरिकी सरकारको ऐक्यबद्धता र त्यस निम्ति पुर्याउने सहयोगबारे अध्यक्ष रेग्मीलाई जानकारी गराइएको पनि सहसचिव राईले बताए ।

“निर्वाचन नै प्रजातन्त्रको मेरुदण्ड भएकाले जसरी पनि चुनाव हुनुपर्छ भन्ने अमेरिकी सरकारको मान्यता राजदूत बोडीले उल्लेख गर्नुभयो” भेटवार्तामा सँगै रहनुभएका सहसचिव राईले भने ।

नेपालका निकटतम छिमेकी भारत र चीनले जत्तिकै आफ्नो मुलुकले पनि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन आवश्यक सहयोग जुटाउने प्रतिबद्धता अमेरिकी राजदूतले व्यक्त गरेको उनको कथन थियो । रासस