काठमाडौं, २१ जेठ । सांसदहरुलाई दिइएको रकम हटाउनुपर्ने माग गर्द आएका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अर्थमन्त्रीले झन् रकम बढाएको भन्दै आलोचना गरेका छन् ।

मंगलबारदेखि सुरु भएको बजेट छलफलमा भाग लिँदै बिडारीले आफूले आफूले बारम्बार रकम नदिन सुझाव दिँदा पनि मन्त्री खतिवडाले ६ करोड रकम छुट्याएको भन्दै आलोचना गरेका हुन् । उनले रकम लिने सांसदलाई लाहुरेको संज्ञा दिए ।

‘म सानो छँदाका कुरा सम्झिन्छु, लाहुरे आउँथ्यो छड्के रेडियो भिरेर घन्काउँदै र अनि हामी गाउँका बच्चाहरू पछिपछि लाग्थ्यौँ। अनि उसले किसिम किसिमका चकलेट दिन्थ्यो। रमाइलो हुन्थ्यो, सांसद बिडारीले भने, ‘अहिले अर्थमन्त्रीले सांसदहरूलाई त्यस्तै बनाइदिनुभएको छ। त्यसकारण प्रसंसा गर्नैपर्ने भयो। ए सांसद आयो, मलाई ६ लाख, मलाई ८ लाख, मलाई १० लाखु भन्दै पछि लाग्न थालेका छन्। मैले बारम्बार सैद्धान्तिक रूपमा भन्दै आएको थिए। तर उहाँले बजेट दिनुभयो।’

सांसद बिडारीले अर्थमन्त्रीले बजेट भाषणमा ‘मैले’ भन्ने शब्दप्रति पनि असन्तुष्टि जनाए। उनले भने, ‘यो नेपाल सरकारले पेश गरेको बजेट होइन, अर्थमन्त्रीले ‘मैले’ विनियोजन गरेको छुु भन्नुभएको छ। क्रान्तिकारी अर्थमन्त्रीले पनि त्यै भाषा बोल्नुभयो। यसबारे विपक्षी सांसद केही बोल्दैनन्, किनकी उनीहरूले विगतमा त्यै गरेका थिए।’