१७ जेठ, काठमाडौं ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही जेठ २१ गतेसम्मको अवधिलाई संविधान लेखनका लागि सहमति जुटाउने विषयमा पूर्णरुपमा सदुपयोग गर्न आह्वान गरेका छन् ।

संविधानसभाको आज बस्ने भनिएको बैठक स्थगित भएकाबारे जानकारी गराउँदै उनले संविधानको अन्तरवस्तुमा देखिएको विवादलाई टुङ्ग्याउने काम गरे भैँचालोबाट आहात भएका जनतालाई केही हदसम्म मलमपट्टीको काम गर्ने धारणा व्यक्त गरे ।

उनले भने, “दलहरुले संविधानका विषय र प्रक्रियामा यो बीचको समयमा सहमति गरेका खण्डमा त्यस्तो निर्णयलाई जनताले हार्दिकतापूर्वक लिनेछन् ।” संविधानसभाको अर्को बैठक यही जेठ २१ गते बिहीबार बोलाइएको छ ।

Subash-nembang-1-tension-mood

सभाध्यक्ष नेम्वाङले दलबीच संविधानको अन्तरवस्तुमा सहमतिको सम्भावना प्रचुरमात्रामा बढेकाले यही बेला चाँडो सहमतिमा पुग्न दललाई दबाब दिनुपर्ने आवश्यकता रहेको बताए ।

भूकम्पले क्षतविक्षत भएको मुलुकले अब पनि संविधान पाएनन् भने झन चौपट हुन्छ भन्दै उनले राज्य पुनःसंरचनामा सङ्ख्याबाहेक दलबीच अरु विषयमा खासै मतभिन्नता नरहेकाले अब छिट्टै संविधान जारी गर्नुपर्छ भने ।

संविधान जारी भएका खण्डमा भूकम्प प्रभावित जनतालाई विदेशी मित्रराष्ट्रबाट अत्यधिक सहयोगका हात बढ्न सक्ने सम्भावना औँल्याउँदै सभाध्यक्ष नेम्वाङले संविधानको विषय र प्रक्रियामा सहमति भएका खण्डमा आगामी असारभित्रै संविधान जारी गर्न सकिन्छ भने । रासस