२२ मंसिर, काठमाडौ । निकै उत्साहका साथ नेपाल प्रहरीको नेतृत्व गरेका प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल महिना नबित्दै तनावमा परेका छन् । आफूले संगठनको नेतृत्व गरेदेखि नै दोस्रो ठूलो पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पाउन नसक्दा र दैनिक रूपमा आउने गरेको ‘कहिले हुन्छ बढुवा’ भन्ने प्रश्नको जवाफ दिन नसकी आईजीपी अर्याल तनावमा परेका हुन् । अर्याल गत १ मंसिरबाट लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।

नेपाल प्रहरीमा सबैभन्दा कम समय एआईजीको कार्यभार सम्हाल्दै आईजीपी बनेका अर्यालले आङ्खनो कार्यकालको सबै योजना एक महिनाभित्र बनाउने खाकासमेत तय गरेका थिए । तर, त्यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । सबै ब्याजी डीआईजीहरू एआईजी बन्न दौडधुप गरिरहेको र सरकारले बढुवा नगरेका कारण उनको योजना थन्किएर बसेको हो । ‘प्रहरीलाई साँच्चिकै कामकाजी र जनताको सहयोगी बनाउन ध्यान दिनुपर्ने हो, तर यहाँ त मैले नै एआईजी बन्न दिएन कि भन्ने आक्षेप पो लाग्ने डर हुन थाल्यो,’ दैनिकजसो बढुवाको विषयमा सहकर्मीहरूबाट प्रश्न आउने गरेपछि आपूmनिकटसँग अर्यालले भन्न थालेका छन् ।

‘चिफसापले एआईजी बढुवा गर्ने होइन, तर उहाँमाथि निकै ठूलो प्रेसर छ,’ प्रहरी प्रधान कार्यालयका एक डीआईजी भन्छन् । नेपाल प्रहरीमा हाल एआईजीको सबै दरबन्दी रिक्त छ । सात एआईजीका लागि आईजीपी अर्यालकै ब्याजी १३ जना डीआईजी प्रतिस्पर्धामा छन् । यिनै १३ मध्ये सातजना एआईजी हुने भए पनि लामो समयसम्म बढुवा नहुँदा अर्याललाई समस्या परेको समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

आईजीपी अर्यालका ब्याजी रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, नारायण बस्ताकोटी, केदार साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, वीरेन्द्रबाबु श्रेष्ठ, गणेशराज राई, यादव अधिकारी, विश्वराज सिंह शाही, सुशीलवरसिंह थापा, पर्शुराम खत्री र प्रतापसिंह थापा एआईजीका लागि प्रतिस्पर्धामा छन् । उनीहरू सबै अर्यालसँगै ३ फागुन २०४३ मा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए । आईजीपी अर्यालकै ब्याजी भए पनि कतिपय डीआईजी विवादास्पद रहेका कारण बढुवाका लागि सरकारलाई सहज हुने अनुमान प्रहरी अधिकारीहरूको छ । तर पनि बढुवामा पर्न सबै लागिपरेका देखिन्छन् ।