२ असोज, काठमाडौँ।

लामो प्रतीक्षापछि जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान आइतबार घोषणा हुँदैछ । संविधानसभाबाट संविधान अत्यधिक बहुमतले पारित भएसँगै सबैमा खुसीयाली छाएको छ । यसबाट कुनै क्षेत्र पनि अछुतो हुन सकेको छैन ।

चलचित्र क्षेत्रका हस्तीले पनि मुलुकमा संविधान जारी भएपछि आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् । उनीहरुले आफूहरु ‘नयाँ संविधान’को स्वागत् गर्न लालायित भएको बताए । संविधान जारी भएपछि देशमा शान्ति तथा स्थिरता कायम हुने भएकाले कला, चलचित्र क्षेत्रमा लगानी बढ्ने विश्वास उनीहरुको छ । ‘भैरव’ नामक चलचित्रको निर्देशन गर्दै पाँच वर्षको अन्तरालपछि कलिउड फर्किएका नायक निखिल उप्रेती देशमा संविधान आउने सुनिश्चित भएकाले यस क्षेत्रले चाँडै काँचुली फेर्नेमा ढुक्क छन् । विदेशी चलचित्रले नेपालबाट कम्तीमा पनि वार्षिक रु ३० करोडभन्दा बढी रकम लगिरहेको बताउँदै उप्रेतीले भने, “संविधान जारी भएपछि स्थिरता आउने पक्कापक्की छ, अब नेपाली चलचित्रमा लगानी बढ्नेमा म त ढुक्क छु, लगानी बढेपछि चलचित्रस्तरीय बन्छन् अनि न दर्शकको माया पाउने हो !”

संविधानले सबैलाई समेट्न सके पनि चलचित्र क्षेत्रलाई नसमेटेकोमा भने नायक उप्रेतीले गुनासो गरे । उनले भने, “यसमा हामीहरुको पनि दबाब पुगेन कि !”

संविधान जारी हुने दिनलाई ‘ऐतिहासिक दिन’ मान्नुहुने चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई संविधानमा ‘भाषिक सिनेमा’को कुरा समेटिएकाले सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । उनी संविधानमा चलचित्रबारे कम लेखिएको भएपनि चलचित्र नीति बनिसकेकाले यस क्षेत्रको विकास हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्दै भन्छन्, “पचास वर्षको दौरानमा पनि बन्न नसकेको चलचित्रसम्बन्धी नीति अहिले बनेको छ, यो (चलचित्र नीति) भनेको हाम्रो संविधान हो । चलचित्र क्षेत्रको हितकै लागि ऐन विनियममार्पmत सम्बोधन गर्छौँ ।”

वरिष्ठ कलाकार लक्ष्मी गिरी संविधान आउला या नआउला भनेर मनमा उकुसमुकुस भएको वर्षौँदेखिको भावना अहिले प्रष्फुटित भएकाले आनन्दको श्वास फेर्न थालेका छन् । संविधान आउने भएकोमा निकै भावुक हुनुभएकी गिरीले भने, “मलाई त भावुक भएर राष्ट्रभक्तिले ओतप्रोत भएका कविता लेख्न मन लागेको छ ।”

चर्चित गायिका कुन्ति मोक्तान बच्चादेखि वृद्धसम्मका लागि संविधानले आशाको किरण छरेको बताउँछन् । देशमा द्वन्द्व र अशान्ति मात्र भयो भनेर विदेश पलायन भएकालाई स्वदेश फर्कन आग्रह गर्दै उनी भन्छन्, “नेपालको ठूलो विजय भएको छ, तपाइँहरु अब स्वदेश फर्कनुहोस्, हामी नेपालीले चाहेमा यहीँ जे पनि गर्न सकिँदो रहेछ ।”

अधिकांश कलाकारले संविधान जारी भएको दिन सबै नेपालीलाई दीपावली गर्न आग्रह गर्दै भने, “आउनुहोस् सँगसँगै खुसी मनाऔँ, दीपावली गरौँ, सधैँ यस्तो अवसर नआउन सक्छ ।” रासस