२८ चैत, लहान।

सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ ।

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगलागीमा २५ परिवारको ४० घर जलेर नष्ट भइसकेको र आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए।

आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

साँझ ५ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनै पनि बारुणयन्त्र आईनपुगेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय रामानन्द यादवले बताए । रासस