२५ पुस, एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी नेताहरुले ईरानी मिसाइलले युक्रेनको यात्रुबाहक विमान खसालेको प्रमाण भएको बताएका छन् । उनीहरुले युक्रेनको विमानलाई ईरानी मिसाइलले गल्तीले खसालेको हुनसक्ने बताए ।

क्यानडा र बेलायतका नेताहरुले विमान दुर्घटनाको पूरा अनुसन्धान गर्न माग गरेको छ । बुधबार युक्रेनका एक यायुबाहक विमान तेहरान विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार १ सय ७६ यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

कैयौँ सुत्र र जासुहरुबाट पाएको जानकारीलाई उदृत गर्दै जस्टिन ट्रुडोले ईरानी मिसाइलका कारणले विमान दुर्घटना भएको बताए । साथै उनले ईरानले जानीजानी यस्तो का नगरेको हुने बताए । उनले भनेका छन्, ‘क्यानडाका मानिसहरुको मनमा प्रश्न छ र त्यसको जवाफ उनीहरुले पाउनुपर्छ ।’

उनले प्रमाणको बारेमा भने धेरै जानकारी दिन चाहेनन् । विमानका क्यानडाका ६३ नागरिक थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको बयानमा सहमति जनाउँदै बेलायत र क्यानडा एकअर्कासँग मिलेर काम गर्ने बताए ।

ईरानले भने यस्तो आरोपको खण्डन गरिसकेको छ । ईरानका विदेश मन्त्रालयका प्रवक्ताले यो आरोप निराधार भएको बताए ।