२३ पुष,एजेन्सी । ईरानमा बुधबार भएको विमान दुर्घटनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । ईरान र अमेरिकाबीच चर्किरहेको तनावका बीच गएराति ईरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गर्यो ।

मिसाईल आक्रमणलाई ईरानले आफ्ना शक्तिशाली सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको जवाफ भनेको छ । मिसाईल आक्रमणको केही घण्टालगत्तै ईरानमा युक्रेनी विमान दुर्घटनामा पर्यो । विमानमा रहेका सबै १ सय ७० जनाको निधन भयो । ईरानको राजधानी तेहरानबाट युक्रेनको राजधानीका लागि उडेको केहीबेरमै विमान खसेपछि अमेरिकाको आक्रमणको आशंका गरियो । तर अन्ततः विमान अमेरिकाले खसालेको नभई साँच्चै दुर्घटना भएको स्पष्ट भएको छ ।

तेहरानमा रहेको युक्रेनी दुतावासले इन्जिन फेल भएर विमान दुर्घटना भएको जानकारी दिएको छ । उसले भनेको छ, ‘विमान दुर्घटनामा कुनै आतंकवादीको संलग्नता छैन ।’ दुर्घटनामा मारिनेमा सबैभन्दा धेरै इरानकै नागरिक छन् । ८२ जना इरानियन, ६३ जना क्यानडियन, चालक दलका सदस्यसहित ११ जना युक्रेनी, १० जना स्वीडीस, चार जना अफगानी, तीन जना जर्मन र तीन जना ब्रिटिस नागरिकले दुर्घटनामा ज्यान गुमाएकाे युक्रेनका विदेश मन्त्री भादिम प्रास्तिकोले जानकारी दिए ।