२२ असार, एजेन्सी ।

अमेरिकाले उत्तर कोरियाबिरुद्ध सैन्यशक्तिको प्रयोग गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परिक्षण गरेपछि अमेरिकाले आत्मरक्षाका लागि सम्पुर्ण शक्ति प्रयोग गर्न पछि नहट्ने चेतावनी दिएको हो ।

राष्ट्रसंघको सुरक्षापरिषद्को आपतकालिन बैठकमा बोल्दै अमेरिकी राजदुत निक्की हेलीले उत्तर कोरियाको पछिल्लो कदमले विश्वमा द्धन्द्धको सम्भावना बढेको बताइन । बीबीसीका अनुसार राजदुत हेलीले उत्तरबिरुद्ध थप कडा नाकावन्दी लगाउन राष्ट्रसंघमा प्रस्ताव ल्याउने बताएकी छिन् ।

लगातारको मिसाईल परिक्षणले उत्तरको सैन्य शक्तिको क्षमता बढ्दै गएको भन्दै राजदुत हेलीले यसले द्धन्द्ध निम्त्याउन सक्ने चेतावनी दिएकी हुन् । राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा बोल्दै चीन र रुसले भने अमेरिकालाई संयमता अपनाउन आग्रह गरेका छन् ।

उत्तरको मिसाईल परिक्षण अस्वीकार्य भन्दै चीन र रुसका प्रतिनिधिले सैन्य शक्ति भने प्रयोग गर्न नहुनेमा जोड दिएका हुन् । उनिहरुले दक्षिण कोरियामा मिसाईल प्रतिरक्षा प्रणाली परिचालन गर्ने, उत्तर कोरिया नजिक संयुक्त सैन्य अभ्यास गर्ने जस्ता उत्तरलाई चिढ्याउने अमेरिकी कदम स्थगीत गर्नुपर्ने धारणा दोहो¥याएको समाचारमा उल्लेख छ ।

उत्तर कोरियाले मंगलबार लामो दुरीमा मार हान्न सक्ने अन्तरमहादेशिय मिसाइल परिक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले कुनै पनि किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी लगाएपनि उत्तर कोरियाले भने लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।