१२ असार, काठमाडौ ।

भूकम्पका कारण काठमाडौ उपत्यका प्रभावित बने पनि घरजग्गा खरिद-बिक्रीमा भने यसको प्रभाव देखिएको छैन ।

भूकम्पले बैशाखमा घरजग्गाको खरिदबिक्रीमा केही कमी आए पनि जेठमा भने विगतमा जस्तै कारोबार भएको छ ।

उपत्यकासहित मुलुकभरकै मालपोत कार्यालयको अभिलेख राख्ने जिम्मेवारी पाएको भूमिसुधार तथा ब्यवस्थापन विभागका अनुसार जेठमा उपत्यकाका मालपोत कार्यालयले घरजग्गा खरिद बिक्रीमा लाग्ने रजिष्ट्रेशन शुल्क कति असुली भयो भन्ने तथ्यांक स्पष्ट पार्छ ।

बैशाख १२ को भूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पको कारण धेरै सर्वसाधारणले राजधानी छाडेको र यहाँ बस्न उपयुक्त छैन भन्ने प्रचार गरिएको थियो । सर्वसाधारण राजधानीमा घर किन्न र जग्गा जोड्न डराएका कारण वैशाखमा घरजग्गा किनबेच सुस्ताएको थियो तर जेठमा पुरानै अवस्था आएको विभागका कर्मचारी तुलसीराम बैद्यले जानकारी दिए ।

विभागका अनुसार काठमाडौ उपत्यकाका मालपोत कार्यालयले जेेठमा मात्रै ३३ करोड २६ लाख राजश्व असुली गरेका छन् । गत वर्ष जेठमा यो तथ्यांक ३८ करोड ४५ लाख रुपैयाँ थियो । आजको नागरिकमा खबर छ ।