७ मंसिर, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा मतदान गर्न नेपाली कांग्रेसले निर्देशन दिएको छ । कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले सप्तरी क्षेत्र नम्वर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवलाई भोट हाल्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसहितको अपिल गरेका छन् ।

सप्तरी क्षेत्र नम्वर–२ बाट उम्मेदवार बनेका अध्यक्ष यादवलाई समर्थन गर्न कांग्रेसको केन्द्रीय तहबाटै निर्देशन प्राप्त भएपछि जिल्ला सभापति यादवले सोही अनुसार संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मसालमा भोट हाल्न राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी र महदेवा गाउँपालिकाका पदाधिकारी तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । यादवले गत मंसिर ३ गते नै लिखित निर्देशन जारी गरेको भए पनि बिहिबार मात्रै उक्त निर्देशनसहितको पत्र सार्वजनिक गरिएको हो ।

सप्तरी–२ मा कांग्रेसबाट सकलदेव सुतिहारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । हाल सुतिहारले समेत उपेन्द्र यादवलाई समर्थन गर्ने भन्दै चुनाव प्रचार गरेका छैनन् । केन्द्रीय निर्देशन अनुसार सुतिहारले अध्यक्ष यादवलाई समर्थन गरेर मसालको पक्षमा प्रचारप्रसारमा जुटेका छन् । सुतिहार पहिल्यै आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेको भए पनि समयतालिका बमोजिम निर्वाचन आयोगको कार्यालय पुग्न नसक्दा प्राविधिक हिसाबले उम्मेदवारी हालसम्म पनि कायमै रहेको छ ।

‘प्राविधिक रुपमा हाम्रो पार्टीको सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी रहे पनि उक्त क्षेत्रमा मधेस गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई हाम्रो उम्मेदवार सकलदेव सुतिहार समेतले समर्थन गरेको हुँदा सोही अनुसार सहयोग गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपिल गर्दछु’–, सभापति यादवद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।