२४ भदौ, महोत्तरी । आउँदो असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर २ मा चहलपहल बढेको छ । नगर तथा गाउँपालिकाका उम्मेदवारहरू मतदाताको घरदैलोमा गएर मत माग्नुका साथै चुनाव जित्न आन्तरिक रणनीति बनाउन व्यस्त हुनुहुन्छ । अहिले बाहिर देखिने गरी प्रचारप्रसार गर्नुभन्दा पनि आआफ्ना विभिन्न पकेट क्षेत्रमा रणनीति बनाउनै नेताहरू व्यस्त देखिनुभएको छ ।

तराई मधेशका आठ जिल्लामा हुने मतदान निकै पेचिलो हुने गरेको छ । पहाडी क्षेत्रजस्तो तराई मधेशको चुनावी आँकडा निकाल्न गाह्रो हुने देखिन्छ । चुनावको अनुगमन गर्न जनकपुर आउनुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले भन्नुभयो, “मधेशको चुनाव पेचिलो हुने गरेको छ, कुन दल, कुन व्यक्ति जित्छन् वा हार्छन् कसैले अनुमान लगाउन सक्दैन, अन्तिम समयमा मतदाताले निर्णय लिने गरेका हुन्छन् । ” आजको गोरखापत्रमा खबर छ ।

नेपाली काँग्रेसका धनुषा सभापति रामसरोज यादवले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “२०७० सालको संविधानसभा सदस्य चुनावमा मेरो जित्ने सुनिश्चित थियो तर अन्तिम राति सबै साना दलले मोर्चाबन्दी गरेर मत काट्ने काम गरे र लगभग १२ सय मतले पराजित भएँ, त्यसैले सङ्गठन जति बलियो भए पनि निश्चिन्त हुने अवस्थामा रहनु हँुदैन । ”

अवस्था जस्तोसुकै भए पनि प्रमुख दलहरूले आआफ्नो दल नै एक नम्बरको पार्टी हुने दाबी गरिरहेका छन् । मधेशका आठ जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले, राजपा नेपाल, सङ्घीय समाजवादी फोरम नेपालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नयाँ शक्तिबाट हालै माओवादी केन्द्रमा प्रवेश गर्नुभएका रामकुमार शर्माले तराई मधेशमा माओवादीप्रति देखिएको जनलहरले माओवादीलाई एक नम्बरको पार्टी बनाउने दाबी गर्नुभयो । महोत्तरीको जलेश्वरमा कार्यकर्तासँग चुनावको बारेमा छलफल गरिरहनुभएका उहाँले नयाँ शक्तिदेखि लिएर राजपा नेपाल र एमालेबाट आफ्नो पार्टीमा प्रवेशको लहर नै चलेकाले जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

उहाँले महोत्तरीमा एक नम्बरको पार्टी हुने दाबी गर्दै भन्नुभयो, “हाम्रो प्रतिस्पर्धा काँग्रेससँग छ । हामी अगाडि छौँ, काँग्रेस पछिपछि छ । ” नामै लिएर उहाँले जलेश्वर नगरपालिकामा काँग्रेस र एमालेसँग आफ्नो दलको प्रतिस्पर्धा रहेको र पिप्रा नगरपालिकामा राजपा नेपाल र काँग्रेससँग प्रतिस्पर्धा रहेको दाबी गर्नुभयो । उहाँले बर्दिबास नगरपालिका, रामगोपालपुर, मटिहानी, औरही लगायतका स्थानमा पनि आफ्नो पार्टीले जित्ने दाबी गर्नुभयो ।

तर, महोत्तरी काँग्रेसले पनि त्यहाँ एक नम्बरको पार्टी हुने दाबी गरेको छ । सो पार्टीका जिल्ला सचिव शम्भु पाठकले महोत्तरीमा आफ्नो दलको प्रतिस्पर्धा माओवादी केन्द्र र राजपा नेपालसँग रहेको बताउनुभयो । उहाँले औरहीमा काँग्रेसले जित्ने सुनिश्चित भएको दाबी गर्नुभयो । मनरामा राजपा नेपालसँग आफ्नो दलको प्रतिस्पर्धा रहेको दाबी गर्दै उहाँले बर्दिबासमा माओवादी, जलेश्वर र गौशालामा एमाले, मठियानी र मनरामा राजपा नेपालसँग प्रतस्पर्धा रहेको तर सबै ठाउँमा आफ्नो दल नै अगाडि रहेको बताउनुभयो ।

तराई मधेशको मतको हिसाब गर्ने हो भने यी प्रमुख तीन दल अगाडि पछाडि हुँदै आएका छन् । पहिलो संविधानसभामा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो स्थानमा थियो तर दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो स्थानमा झ¥यो भने काँग्रेस पहिलो र एमाले दोस्रो स्थानमा नै कायम रह्यो । काँग्रेसले पहिलो संविधानसभा चुनावमा मधेशका आठ जिल्लाबाट चार लाख १४ हजार ३४१ र दोस्रो संविधानसभा चुनावमा तीन लाख ८९ हजार १७५ मत पाएको थियो भने एमालेले पहिलो संविधानसभा चुनावमा तीन लाख ३२ हजार ९५८ मत पाएको थियो भने दोस्रो संविधान सभा चुनावमा आठ जिल्लाबाट तीन लाख ३७ हजार १६३ मत पाएको थियो ।

पहिलो संविधानसभा चुनावमा आठ जिल्लाबाट माओवादीले दुई लाख ६६ हजार १६३ मत पाएको थियो भने दोस्रो संविधानसभा चुनावमा दुई लाख ५२ हजार ३६१ मत पाएको थियो । फोरम नेपालले दोस्रो संविधान सभा चुनावमा एक लाख ११ हजार ८९७ मत पाएको थियो ।

मधेशका आठ जिल्लाबाट दोस्रो संविधानसभा चुनावमा राजपा नेपालले तीन लाख २१ हजार ९४६ मत प्राप्त गरेको थियो । दोस्रो संविधानसभा चुनावमा राजपा नेपालमा रहेका छवटा दल छुट्टाछुट्टै चुनाव लडेका थिए ।

पहिलो संविधानसभा चुनावमा २ नम्बर प्रदेशबाट काँग्रेसले २१, एमालेले १४, माओवादी केन्द्रले आठ, राजपाले तीन तथा स्वतन्त्र एक र नेपाल लोकतान्त्रिक फोरमले एक सिट जितेका थिए । दोस्रो संविधानसभा चुनावमा २ नम्बर प्रदेशका आठ जिल्लामा १८ लाख ४९ हजार ४१९ मत खसेको थियो । अहिले यी आठ जिल्लामा मतदाताको सङ्ख्या २६ लाख ६४ हजार ९५० रहेको छ ।