२४ भदौ, काठमाडौं । भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ ।

चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगत्मै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।

पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो ।गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।

चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो ।
०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन कोटेश्वरबाट बरामद गर्‍यो । ट्रक चालक निमा छिरिङ, सुनधनी ग्याम्जो लामा, मनोहरकुमार अग्रवाल र गाडीधनी नाङ्गेल भनिने ओमबहादुर बज्राचार्य पक्राउ परे ।

गाडीको अगाडिको भागमा लुकाएर ल्याइएको सुन तातोपानी नाकाबाट सेटिङमै चिनियाँ तस्करले नेपाल कटाएका थिए । सुराकी विवादमा उक्त मुद्दा अहिले पनि थाती छ ।एक साताअघि सीआईबीले १५ किलो सुनसहित सात जना पक्राउ गर्‍यो । त्यो पनि केरुङ नाका हुँदै काठमाडौं भित्रिएको थियो । चिनियाँ तस्करले नै सुन काठमाडौं ल्याई नेपाली ठेकेदारलाई जिम्मा लगाएको निष्कर्षमा प्रहरी अनुसन्धान अगाडि बढेको छ ।

घटना प्रकृति फरक देखिए पनि चिनियाँ तस्कर नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत देखिन्छन् । सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धानबाट नेपालमा चिनियाँ तस्करको जालो फैलँदै गएको देखाएको छ ।

रक्तचन्दन कारोबारमा चिनियाँ तस्करले जुन हिसाबले लगानी गरेका थिए, ठयाक्कै त्यही ढंगमा यतिबेला सुनमा लगानी भइरहेको अनुसन्धानकर्ताको बुझाइ छ ।१३ वर्षयता उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकमा मात्रै करिब ४० टन रक्तचन्दन बरामद भएको छ । १८ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार तीन सय ४६ किलो बरामद रक्तचन्दन कुहिने अवस्थामा छन् ।