१७ माघ, काठमाडौँ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटिभी)लाई सार्वजनिक प्रसारण सेवा (पिएसबी) का रूपमा अगाडि बढाउने बताएका छन् ।

Sher dhan rai NTV anniversary (2)

एनटिभीको ३१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री राईले आजको प्रतिस्प्रर्धात्मक समयमा नेपाल टेलिभिजनलाई अझ सशक्त र प्रभावकारी बनाउन पिएसबी अवधारणामा जानुपर्नेमा जोड दिए ।

Sher dhan rai NTV anniversary (1)

सञ्चार मन्त्रालयले सरकारी स्वामित्वका विद्युतीय आम सञ्चार एनटिभी र रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवाका रूपमा विकास गर्न विज्ञ समिति गठन गरी कार्य अगाडि बढाइसकेको छ ।

नेपाल पत्रकार महासङ्घ एनटिभी शाखाले प्रकाशन गरेको ‘टेलिभिजन जर्नल अफ नेपाल’ को विमोचन गर्दै नेपाल टेलिभिजनभित्र रहेका आन्तरिक समस्याको पहिचान गरी समाधानसँगै डिजिटल प्रविधिमा लैजानका लागि छलफल प्रारम्भ भएको मन्त्री राईले जानकारी दिए ।

“एनटिभीलाई सरकार वा एउटा मन्त्रीको मुखपत्रका रूपमा मात्र नभएर डिजिटल प्रविधिसँगै सार्वजनिक प्रसारण सेवाका रूपमा अगाडि बढाउनुपर्छ”– मन्त्री राईले भने ।

नेपाल टेलिभिजन देशकै पहिलो टेलिभिजन प्रसारण संस्थानका रूपमा २०४१ माघ १७ मा स्थापना भएर २०४२ पुस १४ बाट नियमित प्रसारण हुँदै आएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले एनटिभीको व्यापार बढाउने नाममा दर्शक घटाउनु उचित नहुने बताए । एनटिभीलाई नयाँनयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउनुपर्ने उहाँको भनाइ छ ।

एनटिभी सञ्चालक समितिका अध्यक्ष महेश दाहालले सन् २०१७ सम्ममा एनटिभीका सबै प्रसारणलाई डिजिटल प्रविधिमा लैजाने उद्देश्य रहेको बताउनुभयो ।

एनटिभीका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले मुलुकको सङ्घीय संरचनासँगै आगामी दिनमा एनटिभीका कम्तीमा ११ च्यानल सञ्चालनमा आउने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ एनटिभी शाखाका अध्यक्ष शालिकराम सुवेदी र एनटिभी कर्मचारी सङ्गठनका अध्यक्ष गोविन्द धितालले एनटिभीभित्र रहेका विकृति र विसङ्गतिलाई अन्त्य गर्नका लागि मन्त्रालयसँग आग्रह गर्नुभयो ।

एनटिभीले संस्थामा २० वर्ष सेवा अवधि पुगेका छजना स्थानीय समाचारदाता, २० वर्षे दीर्घसेवा पदक पाउने १३ जना र ३० वर्षे दीर्घसेवा पदक पाउने १८ जना कर्मचारीलाई सम्मान गरेको छ । रासस