३० भदौ, काठमाडौं ।

एकीकृत नेकपा (माओवादी)का पूर्व केन्द्रीय समिति सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य मुक्ति खनालको मङ्गलबार राति श्वासप्रश्वाससम्बन्धी रोगको उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राखिएको खनालको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जली दिन एमाओवादीका नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाओवादी कार्यकर्ता, उनका आफन्त पार्टी कार्यालयमा पुगेका थिए ।

Mukti khanal

विसं २००३ भदौ २७ गते बुवा देवीप्रसाद खनाल र आमा टीकादेवी खनालको कोखबाट तनहुँको चुँदीमा उनको जन्म भएको थियो । उनको श्रीमती, एक छोरा र तीन छोरी छन ।

वि.स. २०१६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएका खनाल पार्टी काम र शिक्षक सङ्गठनको कामका सिलसिलामा चार पटक जेल र ५० औँ पटक प्रहरी हिरासतमा रहेका थिए ।

यसैबीच, एमाओवादी अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै खनालको निधनको खबरले पार्टीका नेता तथा कार्यकर्ताहरु एवम् जनसमुदाय स्तब्ध भएको जनाउँदै पार्टीको तर्फबाट उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना गरेका छन ।

खनालको निधनले पार्टीले ठूलो क्षतिको महसुस गरेको जनाउँदै शोकलाई शक्तिमा बदल्दै आफ्नो पार्टी उनको सपना साकार पार्न अविचलित रुपमा अगाडि बढ्ने दाहालले प्रतिबद्धता व्यक्त गरेका छन । रासस