काठमाडौं ।

नेपालको संविधान जारी हुने मिति तय भैसकेपछि काठमाडौं आएर पनि संविधान जारी गर्ने कार्यक्रम रोक्न असफल भएका भारतीय विदेश सचिव एस जयशंकर र संविधानकै कारण देखाएर नेपालमाथि नाकाबन्दी गर्न मुख्य भूमिका खेलेका भनिएका भारतीय सरकारका प्रमुख सुरक्षा सल्लाहकार अजित डोबल यतिबेला काठमाडौंमा छन् ।

पोखरामा जारी ‘मिनी सार्क’ सम्मेलनको निहुँमा नरेन्द्र मोदीका २ प्रमुख विश्वास पात्र काठमाडौं ओर्लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन जानै लागेको समयमा ओलीका विश्वास पात्रको काठमाडौं अवतरणलाई धेरैले रोचक मानेका छन् । मधेशी मोर्चाले गठबन्धन बनाएर ओली भ्रमणको विरोध गर्दै चिनियाँ पक्षलाई समेत विरोध पत्र बुझाउने तयारी गरिरहेको समयमा भारतीय सरकारमा प्रमुख एजेण्टहरुले त्यस्ता प्रयासहरुलाई सघन बनाउने अनुमान राजनीतिक क्षेत्रमा देखिएको छ ।

Jay shankar in TIA

फाइल तस्विर

सोमबार राति काठमाडौं ओर्लिएका जयशंकर र मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका अजित डोबलले काठमाडौं देखि बेइजिङ सम्मको योजना बनाएर आएको श्रोतले बताएको छ । पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैंठकमा भाग लिने बहानामा आएका भएपनि जयशंकरले नेपालको शीर्ष राजनीतिकतहमा भेटघाट तिव्र बनाएका छन् । जयशंकरले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापासँग मात्र होइन कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग समेत भेट्नका लागि काठमाडौं ओर्लिएका हुन् ।

उनको सबैभन्दा महत्वपूर्ण भेट होटल द्वारिकामा भएको छ । ओली चीन भ्रमणको पूर्वसन्ध्यामा विरोधको मसाल बाल्न ठिक्क परेका मधेशी नेताहरुलाई जय शंकरले भारतीय टनिक दिएको बताइएको छ । ओलीको चीन भ्रमण अघि हुने मोर्चाको विरोधलाई सघन तुल्याएर चिनियाँ पक्षलाई ओली सरकारसँग सम्झौता नगर्ने मानसिक दवाव दिने भारतको तयारी छ । यसकै सल्लाहका लागि ओली भ्रमणको पूर्वसन्ध्यामा केही मधेशी नेताहरु दिल्ली पुगेका छन् ।

oli jay shankar

फाइल तस्विर

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं नआएर गोरखपुरबाट पोखरातिर लागेपनि मोदीका विदेश सचिव काठमाडौं नै आए । त्यति मात्र होइन उनको साथमा भारतको नेपाल नीतिमा प्रमुख भूमिका खेलिरहेका सुरक्षा सल्लाहकार अजित डोवल समेत देखिनु नेपालका लागि महत्वपूर्ण छ । किन भने यस अघि देखि नै भारतले चीनसँग हुन लागेका भनिएका सम्झौता रोक्नका लागि हरसम्भव प्रयत्न गरिरहेको छ । ६ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए । नेपालमाथि नाकाबन्दी लगाउन मुख्य शुत्राधार मानिएका अजित डोबल र प्रधानमन्त्री ओलीबीच भारतीय राष्ट्रपति भनवमा वान टू वान कुरा भएको थियो ।

Oli ajit Doval

नेपालमाथि करिव ५ महिनासम्म लादिएको अघोषित नाकाबन्दीका प्रमुख शुत्राधार मानिएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल मोदी सरकारमा भने विदेश र खासगरी छिमेकी नीति हेर्ने मुख्य ब्यक्ति हुन् । मोदीका निकट विश्वास पात्र भएका कारण भारतीय जासुसी संस्था रअ र आइबीले पनि आफ्ना रिपोर्टहरु डोबललाई बुझाउने गर्छन् । नाकाबन्दीले धुमिल बनेको छवि सुधार्न र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि भारतीय ‘ठूल्दाइ प्रवृत्ति’ सहितको सदभाव प्रकट गर्न मोदीले आफ्ना सबैभन्दा विश्वास पात्र अजित डोबललाई सुशील कोइरालाको निधनमा श्रद्धाञ्जलीको मौका पारेर काठमाडौं पठाएका थिए ।

सुष्मा र अजित डोबलको बालुवाटार प्रवेशसँगै बदलिएको राजनीतिक माहौल

सुशीलको निधनले काठमाडौं निम्तिएका नाकाबन्दीका शुत्राधार अजित डोबल

नेपालमा भएको राजनीतिक परिवर्तनमा आफ्नो स्वामित्व कायम राख्ने र चीनसँगको सम्बन्धमा पनि माहौल आफ्नो पक्षमा बनाइ राख्ने भारतीय रणनीति सँधै कायम छ । चीनसँग हुने भनिएको इन्धन आपुर्ति तथा अन्य ब्यापार विविधीकरण सम्झौता रोक्नु जयशंकर र अजित डोवल काठमाडौं भ्रमणको मुख्य मिसन रहेको बताइन्छ । ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं आएका यी २ पात्रले ओलीको चीन भ्रमणका क्रममा हुने कतिपय सम्झौताको आधार भत्काउने कोशिस गर्ने मात्र होइन चीन भ्रमणलाई असफल बनाउन पनि भरमग्दुर प्रयास गर्नेमा कुनै शंका नभएको एक विदेश मामिला जानकारले हेडलाइन्सलाई बताए । ओलीले मोदीका विश्वास पात्रको दवावमा नपरी चीनसँग देशको हित हुने र भारतमाथिको आयात निर्भरता समेत घट्ने गरी सम्झौता गर्नु पर्ने उनको सुझाव छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

प्रधानमन्त्री ओली आगामी चैत ७ गते ५ दिने चीन भ्रमणमा निस्कँदैछन् । भारत भ्रमणको ठिक एक महिनापछि ओली चीन जान लाग्दा काठमाडौंमा मात्र होइन दिल्लीमा पनि तरंग देखिएको छ ।