टिप्पणी, प्रयास पराजुली
काठमाडौ ।

भारत भ्रमण गरेको आज एक महिना पुगेकै दिन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका छन् । संयोग नै मान्नु पर्छ एक महिना पुगेकै दिन ओलीले चीन भ्रमण गर्नुको खास कारण के हो ? फागुन ७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले ठिक एक महिना पुगेको दिन आज चीन भ्रमणमा निस्किए । भारतले नाकाबन्दी कायमै राखे चीन जाने सुरसार गरेका ओलीलाई भारतले पाँच महिनादेखि लगाएको नाकाबन्दी रातारात सुचारु गरेर भारत भ्रमणमा बोलाएको थियो ।

नाकाबन्दी नखुली भारत भ्रमणमा जान्न भनेका ओलीले आफ्नो बाचा पूरा भएपछि मात्र भारत भ्रमण गरे । भारत भ्रमणको क्रममा ओलीले कुनै औपचारिक एजेण्डा लिएर गएका थिएनन । दुई देशको सम्बन्ध सुधार गर्नु नै आफ्नो एजेण्डा भएको प्रधानमन्त्री ओलीले त्यति बेला बताएका थिए । नभन्दै देशलाई दुरगामी असर पर्ने कुनै पनि सन्धी र सम्झौता भारण भ्रमणको क्रमममा भएन । ओलीले जे बोले व्यवहारमा पनि त्यही गरे । भारत भ्रमण न हर्ष न विस्मतको रुपमा सम्पन्न भयो । तर पनि सम्बन्ध सुधारमा उल्लेखनिय सुधार आएन । भारतले संविधान निर्माणप्रतिको असन्तुष्टि अप्रत्यक्ष रुपमा अहिले पनि कायमै राखेको छ । यस्तोको बीचमा ओलीेले दर्जन भन्दा बढी एजेण्डा सहित चीन भ्रमणमा निस्किएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

ओलीको राष्ट्रियता छायाँमा, चीन भ्रमण भारतको छायाँमा
पाँच महिना भारतले नाकाबन्दी गर्दा प्रधानमन्त्री ओलीले देखाएको राष्ट्रियताको उर्जा लिएर नेपाली जनताले ग्यासको सट्टा दाउरा र गुइठा बाल्न तयार भए । गाडी चढ्न नपाएर पैदल हिड्न राजी भए । रातदिन ग्यास पेट्रोल र डिजलको लाइन बस्न मन्जुर भए तर पनि ओली सरकारको विरुद्ध केही बालेनन् । ओलीले पनि भारतसंग संविधान जारी गरे बापत नझुक्ने भाषणले सिंगो नेपाली जनतालाई झन् उत्साहित बनायो ।

एमाओवादीबाट किन हटाइए उर्जा मन्त्री रायमाझी र आपूर्ति मन्त्री पुन ?

नागरिकहरुले उर्जा थपे हामी अझै पनि भोकै बस्न तयार छौँ पैदल हिडन तयार छौँ तर भारतसंग झुक्ने काम नगरियोस् । प्रधानमन्त्री ओलीले नाकाबन्दी नखुली भारत जादिन बरु इन्धन सम्झौता सहितको एजेण्डा लिएर चीन जान्छु भनेपछि नाकाबन्दी खालेर भारतले ओलीलाई बोलाएको थियो । तर ओलीको राष्ट्रियताको चट्टाने अडानमा विस्तारै खिया लाग्ने संकेत देखा परेको छ । ओलीको चीन भ्रमणमा भारतको नाकाबन्दीले सबैभन्दा बढी सास्ती पाएको इन्धन सम्झौता नहुने निश्चित भएको छ । भ्रमणको एजेण्डामा इन्धन सम्झौता हटाउनु सामान्य विषय मात्र नभई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतको छायाँमा हुने ओलीको चीन भ्रमणमा इन्धन सम्झौता नहुने भएपछि ओलीको राष्ट्रियता हात्तीको चपाउने दाँतजस्तै हुने देखिएको छ । ओलीको प्रतिबद्धताको धरहरा ढल्नेछ । जनताले जगाएको आशामाथि तुषारापात हुनेछ । इन्धन सम्झौता नगरे सिंगो नेपाली जनताले अपमानित भएको महशुस गर्नेछन् । भारतको छायाँकै कारण यस पटक पनि इन्धन सम्झौता नभए ओलीले भारतसंग कुर्सी टिकाउन लम्पसार परेको निष्कर्ष निकाल्न कुनै हतारो हुनेछैन ।

चीन जाँदा हर्ष आउदा सबैको विरोध
नाकाबन्दीको पीडा खेपेका जनताको मनमा चीन भ्रमणले केही मलम लगाउने आशा र अपेक्षा सहित ओलीको भ्रमणलाई हेरिएको छ । इन्धन सम्झौता गर्ने एजेण्डा नै नभएपछि सम्झौता हुन्छ भनेर पत्याउने आधार छैन् । अन्य विकास निर्माणको लागि चीनसंग हुने सम्झौताले नेपाललाई फाइदा त पुर्याउंला । तर नाकाबन्दीको पीडा खेपेको, झेलेका नेपाली जनतालाई राहत हुने इन्धन सम्झौता नभएर चीनबाट नेपाल फर्किएकै दिनबाट ओलीको विरुद्ध मानिसहरु उत्रिनेछन् । जुन विरोध ओलीको लागि निकै महंगो साबित हुन सक्छ । भारतको छायाँमा परेर इन्धन सम्झौता गर्न नसकिएको कारण ओलीले स्पष्ट पार्नुपर्नेछ । चुपचाप ओलीको राष्ट्रियताको अडानको पक्षमा रहेका नेपाली जनता विरोधमा उत्रिदा उनकोे राष्ट्रियता उदाङगो हुने निश्चित छ ।

भारतीय मिसन सफलः चीनसँग इन्धन सम्झौता नहुने निश्चित

ओलीको चीन भ्रमण आशा र आशंका
ओलीको चीन भ्रमण निकै ठूलो आशा र अपेक्षाको साथ हेरिएको छ । कहिले पनि चीनले नेपालमाथि दुःख र सास्ती दिएको छैन् । यस अघि नेपाल र चीनबीच नाका खोल्ने, कृषिको विकास गर्ने सम्झौता भएका थिए । तर ती शक्तिकेन्द्रहरुको कारणले कार्यान्वयनमा आउनै पाएनन । १६ बर्षअघि कृषि सम्झौता भएको थियो । चीन र नेपालबीच सन् २००१ मा स्याफ्रुबेसी–केरुङ नाका सञ्चालन गर्ने सम्झौता भएको थियो । तर ती सम्झौता कार्यान्वयनम आउन नसक्दा भारतले पाँच महिनाको नाकाबन्दीको पीडा थोर्पन सफल भयो । नाका मात्र सञ्चालनमा आएदिएको भए भारतले यति विना उभ्रदो दादागिरी र आफ्नो हैकमवादी रवैया देखाउन सक्ने थिएन ।

प्रधामन्त्रीको चीन भ्रमणको क्रममा पारवहन, विद्युत, रेल वे नाका सञ्चालन गर्ने एजेण्डाको तय भएको बताइएपनि कृषि र पर्यटनको बारेमा चर्चा सुनिएको छ । देशको विकासका आधार कृषि र पर्यटनलाई पनि चीन भ्रमणको एजेण्डामा समावेश गर्नु पर्छ । चीनसंग कृषि क्षेत्रमा गर्न सकिने सहकार्य र पर्यटनको मुद्दा अहिले पनि एजेण्डा बन्न सकेको छैन । हाम्रो देश कृषिमा आश्रित छ । कृषिमा चीनसंगको सहयोग लिन सके देशको गरिबी घटाउन ठूलो टेवा पुग्ने छ । कृषि प्रधान देश भनेपनि हामी करोडौ रुपैयाँको खाद्यान्न आयात गरिरहेका छौ ।

चीन नेपालप्रति सचेत छ । चीन नेपालमा विकास चाहन्छ । समृद्धि चाहन्छ । सधैभरी परनिर्भर होइन आत्मनिर्भर बनेको हेर्न चाहन्छ । विकासको निर्माणमा फड्को मारोस भन्ने चाहना राख्छ । नेपालको विकासमा सक्दो सहयोग गर्ने चीनले प्रतिबद्धता नै व्यक्त गर्दै आएको छ । देशका विकासमा चीनले निस्वार्थ रुपमा ठूलो सहयोग गर्दै आएको छ। भारतले तीन पटक नाकाबन्दी गर्दा पनि चीनसंग नेपालले इन्धन र पारवहन सन्धि गर्न सकेन । यो नै नेपालको दुर्भाग्य बन्न पुग्यो । देशको हितलाई कुर्सीमा बन्दकी राखेर सरकारको नेतृत्व गर्नेहरुले पारवाहन सन्धि गर्न खुट्टा कमाए । देशको स्वार्थलाई भन्दा मुलुकको नेतृत्व गर्नेहरुले कुर्सी जोगाउने खेतीमा लाग्दा नेपाली जनताले पाउनुसम्म सास्ती पाए । चीनको नेपालप्रति कुनै ठूलो स्वार्थ छैन । फ्रि तिब्बतको एक मात्र चीनको चासो र चिन्ता छ। यसलाई नेपालले नेपालमा कुनै पनि देशको विरुद्ध नेपालको भूमि प्रयोग हुने छैन भन्ने ग्यारेन्टी गर्दै विश्वास दिलाउनुपर्छ ।

अब पनि स्वतन्त्र राष्ट्रको हैसियतमा चीनसंग सम्झौता गर्न खुट्टा कमाउने हो भने देशले सधै दुःख पाइरहन्छ । नेपाल र चीनबीच सन् १९५५ मा आधुनिक दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगिसकेको छ । यस बीचमा दुई छिमेकीबीच सधैं मैत्रीपूर्ण र सुमधुर सम्बन्ध रहँदै आएको छ । चीनले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई दह्रो समर्थन गर्दै आइरहेको छ । नेपालको आर्थिक विकासमा चीनले ठूलो सहयोग गर्दै आएको छ । छिमेकी देश चीन विश्वको पहिलो आर्थिक महाशक्ति राष्ट्र बन्न पुगेको छ । चीनसंग नेपालले धेरै सहयोग र अनुभव लिन सक्छ । चीन पनि सहयोग गर्न प्रतिबद्ध छ । नेपालप्रति चीनले कहिले पनि कुदृष्टि लगाएको छ । प्रत्यक्ष अप्रत्यक्ष कुनै पनि राजनीतिक दबाब दिएको छैन ।

नेपालले चीन र भारतसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषा गर्दै नयाँ उचाइमा लाने र आजको समय सुहाउँदो बनाउनेतर्फ पहलकदमी सुरु गर्नुपर्छ । यसपाली प्रधानमन्त्रीको चीन यात्राको बखत चीनको समृद्धिबाट नेपालको आर्थिक समृद्धिमा कसरी फाइदा लिन सकिन्छ, त्यसतर्फ ध्यान जान जरुरी छ । चीनसंग सम्झौता गर्ने मात्र होइन काम देखिनु महत्वपूर्ण कुरा मानिएको छ ।

केही समयअघि नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच चीन र नेपालको आयात र निर्यातलाई सहज बनाउन मुस्ताङको यारिङ, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, संसुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के र मुगुको नाम्चेलाङमा नाकाको सम्भाब्यता अध्ययन गर्ने सहमति भएको थियो । भारतले तेस्रो पटक गरेको नाकाबन्दीबाट पाठ सिकेर यी सम्भावित नाका खोल्नुको विकल्प नेपालसंग छैन ।

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा हामी भारतमाथि पूर्ण आश्रित छौं । नाकाबन्दीबाट पाठ सिकेर एउटा मुलुक माथिको परनिर्भरता हटाउने उचित समय आएको छ । समयको सही सदुपयोग गर्नु नै नेपाल र नेपाली जनताप्रति न्याय हुनेछ । जनताप्रतिको सच्चा सम्मान हुनेछ