२६ जेठ, काठमाडौं ।

गत वैशाख २० गतेबाट एक्कासि सुरु भएको सरकार परिवर्तनको हल्ला गत आइतबार बेलुकीबाट बल्ल मत्थर भएको छ ।

वैशाख २२ गते नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमतिले त्यो बेलाको हल्लालाई मत्थर बनाए पनि जेठ १५ मा बजेट प्रस्तुत भएपछि पुनः सरकार परिवर्तनको बेमौसमी हल्ला सुरु भएको थियो ।

वैशाख २२ गते नौबुँदे सहमति गर्दा नै तीनबुँदे भद्र सहमति भएको र त्यहाँ बजेटपछि एमाओवादीलाई सरकारको नेतृत्व दिने भन्ने उल्लेख रहेको भन्दै माओवादीका नेताले सरकार परिवर्तनका लागि कस्सिएर लागिसकेका थिए । महासचिव महराले त अन्तर्वार्ता नै दिएका थिए । पार्टीभित्रै पनि एमाओवादी अध्यक्ष प्रचण्डलाई भद्र सहमतिबारे नेताहरुले प्रश्न उठाएका थिए ।

दाहालले पनि सार्वजनिक कार्यक्रममार्फत भद्र सहमति भएको भन्दै सो सहमतिअनुसार एमालेले आफूलाई सरकारको नेतृत्व छाड्नुपर्ने बताएका थिए । तर, भद्र सहमतिको एक्लै डिफेन्स गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार राति दाहाललाई बालुवाटारमा बोलाएर राजनीतिक कोर्सबारे विस्तृतमा सम्झाएका थिए ।

यो सरकार गिराउन कुन शक्ति परिचालित छ, सरकार गिरिहाल्यो भने त्यसपछिको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्नेजस्ता कुरा ओलीले प्रचण्डलाई सविस्तार बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहाललाई बोलाएर ‘तपाईलाई भारतले कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिँदैन तपाई किन सरकार परिवर्तनको खेलमा लागेको ?’ भन्दै निकैबेर सम्झाएका थिए ।

‘कुराकानी सकिएपछि दाहाल मैले कुरा बुझेँ’ भन्दै उठेर हिँडेका थिए । त्यसयता दाहालको बोलीमा यु–टर्न भएको छ । बुधबार साप्ताहिकमा खबर छ ।