११ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको ईतिहासमै सबैभन्दा असफल सावित भईसकेको दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । वडादशैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी गरे ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ सभापति देउवाले भने, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैंं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी पनि दिए । उनले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।