२५ साउन, काठमाडौं
कोइराला विरासतलाई तोड्दै कांग्रेसको सत्ता हत्याएपछिको पहिलो केन्द्रीय समितिको बैठकमा नै नेविसंघको महाधिवेशन ६ महिनाभित्रै गराउने गरी आफ्नो प्रतिष्ठा देखाउन खोजेका कांग्रेस सभापति शेरबहादुर देउवा सुरु भएको महाधिवेशनलाई फत्ते गर्न भने चुकेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

१० वर्षमा बल्ल महाधिवेशन हुनेगरी टुंगो लाग्दै ११ औं महाधिवेशन सुरु भए पनि विवादका कारण नेविसंघको बन्दसत्र सर्दै बुधबारसम्म पुगेको छ । आफूले प्रतिष्ठाको विषय बनाएको महाधिवेशनलाई व्यवहारिक रुपमा गराउन देउवा असफल देखिएका हुन्।

निक्कै आशा गरिएको र झण्डै दुई करोड खर्च हुँदै गर्दा पनि महाधिवेशनमा बीचमा आएरै त्यत्तिकै रोकिने हो की भन्ने चिन्ताले अहिले देउवालाई सताएको छ ।
एकातिर केन्द्रीय कार्यालयनमा आमरण अनसनले नेताहरुको स्थिति जीवनमरणको दोसाँधमा छ, अर्कोतिर बन्दसत्र स्थलमा झडप भएको छ, अर्को देउवा खेमामै सभापतिको उम्मेवदार आफू नै भएको भन्दै जितजंग बस्नेत र नैनसिंह महर मिडियामाबाजीमा लागेका छन् ।

महरले आफैं देउवा पक्षबाट अध्यक्षको उम्मेदवार भन्दै विभिन्न अनलाइनमा समाचार लेखाएको आरोप भोगिरहेका छन् । भने, अर्का जितजंग बस्नेतले झण्डै एक हजार नेता कार्यकर्ताको भीड देउवा निवासमा पुर्याएर आफैं अध्यक्षको उम्मेदवार भएकोमा दबाब दिन खोजेका छन् ।

सभापति भएर तटस्थ हुनुपर्ने सभापति देउवाले मैंले उम्मेदवारको टुंगो लगाएको छैन समेत भन्नुपरेको विषय समाचार आइरहेका छन् । देउवाको यस्तो अवस्थालाई उनी गुटको नेता की पार्टी सभापति भन्दै सामाजिक संजालमा व्यग्य कसिएको छ । समग्र विवाद मिलाउन खटिनुको सट्टा पहिले जस्तै गुटझैं निर्देशन दिनुलाई धेरैले राम्रो मानेका छैनन् ।

ओली सरकार फेरेर माओवादीसँग सत्ता सहकार्य गरिरहेका देउवालाई आफ्नै प्रतिष्ठाको विषय बनेको नेविसंघको महाधिवेशनले नराम्रो गरी विवादमा तान्ने र अप्ठ्यारोमा पार्ने काम गरेको छ । उनी निकटकै नेता डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले अधिवेशन हुन नसकेका ११ वटा जिल्लाको विवाद मिलाउन खोजे पनि एक सातादेखिको दिनहुँको उनीहरुको छलफल अझै टुंगोमा पुग्न सकेको छैन ।

नेविसंघको अधिवेशनको विवादले देउवाले पार्टीका तर्फबाट पनि मन्त्री छान्न सकेका छैनन् । यस्तै विवादका बेला मन्त्री छानिए असन्तुष्ट नेताको असहयोगपछि आफू कमजोर बन्ने उनको सोच छ । त्यसैले पहिले नेविसंघलाई टुंगो लगाउने उनको सोच देखिन्छ ।

तर, नेविसंघमा यसैगरी बन्दसत्र स्थगित हुँदै जाने र महाधिवेशन अलपत्रमा पर्यो भने उनले के गर्छन् ? प्रश्नैप्रश्नै उनीसामू तेर्सिएका छन् । आफू निकटका नेता हुन् वा नेविसंघको महाधिवेशन उद्घाटन कार्यक्रममा देउवाले नेविसंघको निर्वाचनबाटै नेतृत्व चुन्ने प्रक्रियामा आफ्नो कुनै हस्तक्षेप नहुने देउवाले बताएका छन् । यस्तोमा विवाद मिलाउन भन्दै टिका लगाए उनी आफ्नै प्रतिवद्धताबाट चिप्लिने छन् ।

यसरी एकातिर प्रतिष्ठाको विषय बनेको नेविसंघको महाधिवेशन गर्नुपर्नेछ भने अर्कोतिर कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउनुपर्ने बाध्यतामा उनी छन् । सरकारमा मन्त्री सहभागी गराउन आफ्नै टिमबाट नेता व्यस्थापन उनका लागि उत्तिकै गाह्रो परेको छ । किनकी देउवा निकटकै डेढ दर्जन नेताको दाबी मन्त्रीका लागि छ । सरकारमा सहभागी गराउने मन्त्रीका नामका विषयमा देउवाले आफैं मनलाग्दी गरेको भन्दै पौडेल पक्षको सहयोगको सामना त छँदैछ, सिटौला पक्षको मन्त्री माग, खुमबहादुर खड्काको दाबी पनि उत्तिकै हुँदै गर्दा देउवा तीव्र दबाबमा परेको कांग्रेस नेताहरु बताउँछन् ।