४ असोज, काठमाडौं । शुक्रबारबाट देशभर प्रदर्शनमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको पहिलो दिन आक्रामक व्यापार गरेको छ । शुक्रबार राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशत भन्दा बढी अकुपेन्सी थियो । यसरी चलचित्रले पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको फिल्मका निर्माता मणिराम पोखरेलले जानकारी दिए ।

नेपाली चलचित्रहरुमा यो २०७६ सालकै उच्च कलेक्सन भएको चलचित्र निर्माण टीमको दाबी छ । शुक्रबारसँगै शनिबार पनि राजधानी र देशभरका अधिकांश हलहरुमो अकुपेन्सी एकदमै रामो रहेको छ । फिल्मको वर्ड अफ माउथको पब्लिसिटी र समिक्षकहरुले पनि राम्रो भनेका कारण अरु केही दिन फिल्मले ताबडतोड कमाउने संकेत देखिएको छ । फिल्मी पण्डितहरुले चलचित्रले दोश्रो दिनमा पनि १ करोड ५० लाख भन्दा माथिको ग्रस कलेक्सन गर्ने आँकलन गरेका छन् । यद्यपि यसको एकिन आँकडा भने आइतबार मात्र प्राप्त हुनेछ ।

शुक्रबार फिल्मको ओपनिङ बम्पर भएपछि शनिबार फिल्म युनिटले राजधानीका हल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ । अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल, निर्देशक रामबाबु गुरुङ गोपिकृष्ण हलमा पुगेका थिए । फिल्मले बम्पर ओपनिङ गर्दा फिल्म युनिट दंग देखिए ।

रामबाबु गुरुङको निर्देशनम बनेको चलचित्र ‘कबड्डी’को तेश्रो सिरिज हो ।