बाँके ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ ।

राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका थिए । थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनीहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन् ।

कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीलगायत थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका सिनेट प्रिसिडेन्ट बिभोल सेनाबीच वार्ता ।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका राष्ट्रियसभाका अध्यक्ष समडेक अक्का मोह पोन्हिया चकेरी हेङ सामरिनबीच मंगलबार भेटघाट ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियास्थित राष्ट्रिय संग्रहालय भ्रमणपछि त्यहाँका प्रमुखबाट मायाको चिनो प्रदान गरिँदै ।
प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोकनका क्रममा भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अभिरुचिपूर्वक अवलोकन गर्दै ।

तस्वीर: दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।