६ बैशाख, काठमाडौं ।

सत्तारुढ कांग्रेस एमालेले संविधान निर्माणमा सहमति नभए प्रकृया अघि बढाउन कस्सिस्ने भएका छन् । दुई दलको प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकले एमाओवादीसँग छलफल गरी सहमति नभए प्रकृयामा जानका लागि भएपनि सहमति गर्ने निर्णय गरेको हो । सहमति हुन नसकेको अवस्थामा प्रकृया अघि बढाए पनि आफूहरुलाई आपत्ति नहुने बताएपछि कांग्रेस एमाले प्रकृया अघि बढाउने निष्कर्षमा पुगेका हुन् ।

 

NC UML press meet 2

फाइल तस्विर

दुई दलको बैठक पछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आजै एमाओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेर सकेसम्म सहमति र नभए प्रकृयामा जानका लागि भए पनि सहमति गरिने बताए । ‘छिटो संविधान जारी गर्नुको विकल्प छैन, सकेसम्म सहमतिमै संविधान जारी गर्नु पर्छ, पौडेलले भने, नभए प्रकृयामा जानका लागि पनि सहमति गर्नु पर्ने भएकाले प्रचण्ड जिसँग छलफल गरेर संविधान निर्माणको काम अघि बढ्छ ।’

आजको संविधानसभाको बैठक पनि कार्यसूचिमा प्रवेश नगर्ने भएपछि अर्को बैठक तोक्ने बारे पनि एमाओवादीसँग छलफल गर्ने र नियमित बैठक राख्ने पौडेलको भनाई छ ।

त्यस्तै एमाले नेता माधवकुमार नेपालले आफू अझै सहमति हुनेमा आशावादी रहेको भन्दै नभए विवादित संघीयताको विषयलाई समाधान गर्न संघीय आयोगलाई जिम्मा दिनु पर्ने बताए । उनले भने, संघीयताको विषय मिल्दै नमिल्ने हो भने त्यसकै कारणले संविधान निर्माणको काम रोकिनु हुन्न, त्यो विवाद मिलाउने जिम्मा आयोगलाई दिएर भए पनि संविधान जारी गर्नुपर्छ ।’