६ माघ, काठमाडौं ।

मौषम चिसो बनिरहेको बेला आज राजधानी आसपास पानी पर्ने सम्भावना देखिएको । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउसो काठमाडौं र यस वरपरका क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाएको हो ।

हिँजो देखि गुम्म बादलले ढाकेको आकाश पानी परेपछि सफा हुने विभागको भनाइ छ । यद्यपी पानी ठूलो नपर्ने र लामो समय पनि नपर्ने विभागले जनाएको छ ।

Rain_over_Kathmandu

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । मङ्गलबार बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण गए राति बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको हो ।

हिमपातले बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बैतडी सदरमुकाम, देहिमाडौँ, गुरुखोला, नागार्जुन, हटैराज, कटौजपानी लगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए

त्यस्तै दार्चुलाको सदरमुकाम खलङ्गा, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्कर लगायत क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

चिसोबाटै बच्न दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । दार्चुलामा यसअघि पुसको दोस्रो साता र चौथो साता पनि हिमपात भएको थियो ।

डडेल्धुराको सदमुकामलगायत भीमदत्त राजमार्गका विभिन्न स्थानमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै बझाङको जयपृथ्वीबहादुर राजमार्ग आसपास लगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

हिमपातका कारण अत्यधिक चिसो हुँदा वृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग प्रभावित भएका छन् ।