३१ भदौ, काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताएकी छन् ।

आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

‘आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ । बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ’, मौसमविद् पौखरेलले भनिन्। हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ ।

राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन÷ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १०.० मिलिमिटर वर्षा भएको छ ।