३१ साउन, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ ।

भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ । यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ । समितिमा स्वीकृतिका लागि पेश नै नभएको मानसखण्ड पञ्चाङ्गले भाद्र शुक्लअष्टमीकै दिन अर्थात् भदौ २० गते गौरापर्व भनी उल्लेख गर्दा पर्वका विषयमा भ्रम उत्पन्न भएको थियो । “भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे अगस्ति तारा उदाउने भएकाले कृष्ण अष्टमीकै दिन गौरापर्व मनाउनुपर्ने शास्त्रीय बचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उनले भने ।

भदौ २० गतै गौरा पर्व भनी लेखिएको पात्रो बोकेर समितिको कार्यालय आएका पञ्चाङ्गकारले पात्रोसमेत नछोडी गएका थिए । समितिको स्वीकृति बेगर आफुखुशी निस्कने पात्रोले चाडपर्वका विषयमा आम मानिसलाई द्विविधा बनाउने गरेको छ । सामान्य मानिसलाई समितिले स्वीकृत गरे/नगरेको थाहा नहुने भएकाले पनि समस्या भएको थियो । सरकारले चाडपर्वको निर्णय गरी पात्रोलाई स्वीकृति दिन समितिको गठन गरे पनि यससम्बन्धी कार्यविधि, निर्देशिकालगायत आधार नबनाएकाले काममा समस्या हुने गरेको छ ।

समितिले एक दशकअघि नै मस्यौदा गरी पठाएको निर्देशिका मन्त्रालयबाट स्वीकृत नभएकाले पनि चाडपर्वसम्बन्धी निर्णय गर्न पात्रोलाई नियमन गर्ने ठोस् कानूनी आधार छैन । जसका कारण चाडपर्व जस्ता संवेदनशील विषयमा सरकारका कुनै पनि निकायबाट स्वीकृत नभएका पात्रोले आफूखुशी समयसारिणी उल्लेख गरिदिँदा जनमानसमा भ्रम सिर्जना हुने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल मानसखण्ड पात्रोले गणितका आधारमा नभइ पौराणिक वचनका आधारमा भदौ २० गतेका दिन गौरा पर्वको निर्णय गरेकाले शास्त्रसम्मत् नभएको बताए । समितिले धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थको वचनका आधारमा निर्णय गरेको जनाएको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियुक्त गरेका धर्मशास्त्र, ज्योतिष, इतिहास पुराणलगायत शास्त्रीय विषयका विज्ञको सहभागिता हुन्छ । भदौ २० गते गौरा पर्व लेखिएको पात्रो नेपालको सुदूरपश्चिम क्षेत्रमा बढी पुगेकाले कहिले मनाउने भन्ने भ्रम उत्पन्न भएको थियो । सुदूरपश्चिम क्षेत्रका विद्वान्को भेलाले समितिको निर्णयअनुसार भदौ ६ गते गौरापर्व मनाउने निर्णय गरेको बैतडीबाट प्रकाशन हुने अठोला पात्रोका पञ्चाङ्गकार डिल्लीराज जोशीले बताए।

भाद्र शुक्लअष्टमी अघि नै अगस्ति तारा उदाएका वर्ष कृष्णअष्टमीकै दिन गौरा पर्व मनाउने गरिए पनि यसवर्ष बढी विवाद भएको थियो । गतवर्ष पनि यसवर्ष जस्तै कृष्णअष्टमीकै दिन पर्व मनाइएको थियो । अन्य प्रदेशमा महिलाले तीज मनाए जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा पार्वतीको पूजाआजा गरी गौरा पर्व मनाइन्छ । यस दिन दुबोको समेत विशेष पूजाआजा हुन्छ । यसैले यस दिनलाई दुर्वाष्टमी पनि भनिन्छ । रासस