सुमन बराल

संविधानसभाबाट ९० प्रतिशत जनप्रतिनिधीले पारित गरेको संविधानको बिरोध गर्दै बेलायत, युरोपियन युनियनलगायतका निकायसँग नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेर असल छिमेकीको कर्तब्यबाट भारत बिमुख भइरहेको छ । नेपाल टुक्र्याउने अभियानमा लागेकालाई संरक्षण गर्ने, आफ्नो स्वार्थ बमोजिम संविधान संसोधन गर्न दबाब दिएर नाकाबन्दी लगाउने, नेपालमा सुक्ष्म ब्यवस्थापन गर्न खोज्ने, अन्तराष्टिय मञ्चमा नेपाललाई एक्लाउने र संविधानबारे भ्रम छर्ने प्रयास गर्ने लगायतका क्रियाकलापले धेरै प्रश्न जन्माएका छन । के निकट भबिष्यमा फेरि नाकाबन्दी गर्ला भारतले ? के भारतको नेपाल टुक्रयाउने दीर्घकालिन रणनिती हो ? सिक्किम बिलय गरेजस्तै नेपाल पनि भारतमानै बिलय गराउन सम्भब छ ? जनमतसंग्रह वा सैनिक हस्तक्षेपबाट बिखण्डन सम्भब छ ? संयुक्त राष्ट संघ, अमेरिका, चीनलगायतका देशले कानुन बिपरित नेपालको आन्तरिक मामलामा हुने हस्तक्षेपलाई कसरि लिन्छन ? भारत नेपालमा के चाहन्छ ?

लेखक

लेखक

के निकट भबिष्यमा फेरि नाकाबन्दी गर्ला भारतले ?

नेपाल र भारत भित्र मात्र नभइ अन्तराष्ट्रिय जगतमा समेत नेपाललाई पारवहन अधिकारबाट बञ्चित गरेकोमा भारतको चर्को आलोचना भएको, मधेस केन्द्रित दलको पक्षमा ठुलो जनमत नभएको, सहयोग गर्ने बाहनामा चीन झन नेपाल नजिक हुने त्रासमा भारत रहेको लगायतका कारणले गर्दा अर्को नाकाबन्दी गर्ने अपरिपक्कता भारतले फेरि देखाउने सम्भावना अत्यन्त थोरै छ । तर आन्दोलन थप लम्ब्याउन नसकिने यर्थाथा बोध गरेर भारत पछि हट्न बाध्य भएको अनावश्यक टिप्पणीमा समय खर्चिनु भन्दा जनतालाई संविधानका अन्तरबस्तु बुझाउन सरकारले ध्यान केन्द्रित गर्नु पर्छ । मधेसी मोर्चा लगायत कुनै पनि आन्दोलनकारीका सबै माग सम्बोधन गर्ने अधिकार प्रधानमन्त्री ओली वा कुनै पनि राजनीतिक समितिसँग नभइ नेपाली जनतासँग मात्र छ । तसर्थ दुइ तिहाइ जनता असन्तुष्ट रहेको बताउने मोर्चाले जनतालाई दुःख दिने आन्दोलनको बाटो त्यागेर आगामी चुनाववमा जनताको मन जितेर लोकतान्त्रिक बिधीबाट संविधान परिवर्तन गर्न तिर ध्यान केन्द्रित गर्नु पर्छ ।

जनमतसंग्रहबाट बिखण्डन सम्भब छ ?

नेपालमा स्थायी रुपमा बसोबास नगर्ने भारतीयलाई नागरिकता दिन दबाब दिने, सिमाना निरन्तर अतिक्रमण गर्ने, नेपालमा एक करोड भारतिय छन भन्दै अंगिकृत नागरिकतावालालाई पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मुख्यमन्त्री, सुरक्षा अंगका प्रमुख हुन सक्ने व्यवस्था गर्न र आत्मनिर्णयको अधिकारसहित मधेस मात्र भएको संघिय प्रदेश बनाउन दबाब दिनुले धेरै आशंका जन्माउछ ।

तर शाषकहरुले भबिष्यमा दबाबमा परेर नेपालभित्र नेपालीनै अल्पसंख्यक हुने गरि भारतीयलाई नागरिकता बेचेको अवस्थामा बाहेक जनमतसंग्रहबाट नेपाल टुक्रयाउन सम्भव छैन । नागरिकता सहज बितरणका नाममा दुरुपयोग हुन दिने गरि खुकुलो नियम बानाइएको छ । तसर्थ दोहोरो नागरिकता भएका र कानुन मिचेर बनेका नक्कली नेपालीको नागरिकता खारेज गर्नु पर्छ । साथै नागरिकता किनबेच गर्ने, गराउने वा गर्न सहयोग गर्ने जोकसैलाई हदैसम्मको सजाय हुनु पर्छ ।

सैनिक हस्तक्षेपबाट बिखण्डन सम्भब छ ?

नेपालभन्दा भारत धेरै शक्तिशाली छ तर उसले सैनिक हस्तक्षेप गरेर नेपाल बिलय गराउन वा टुक्रयाउन भने सक्दैन । नेपालमा सैनिक हस्तक्षेप गर्न भारत समेत सदस्य रहेको सुंयुक्त राष्ट्र संघका कानुनहरुले रोक्छ । अमेरिकी नेतृत्वमा रहेको पश्चिमाको समर्थन भारतले पाएको खण्डमा संयुक्त राष्ट्रसंघले हस्तक्षेप गर्न सक्दैन तर चीनले नेपालमा सैनिक हस्तक्षेपको बिरोध गर्ने छ । चीनको भारत र पश्चिमी देशहरुसँग खर्बौ डलरको ब्यापार हुने भएकाले नेपालमा हुने सैनिक हस्तक्षेपको बिरोध गर्दैन भन्नु गलत हो किनकि स्वतन्त्र तिब्बतको नाममा नेपालको भुमी प्रयोग गरेर चीन बिरुद्ध हुने गतिबिधी रोक्न जस्तोसुकै कदम चाल्न पनि चीन तयार हुन्छ । स्वतन्त्र र स्थिर नेपाल चीन चाहन्छ र हालसालै चीनले एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने पुनः प्रतिबद्धता जनाएको छ ।

भारतले पटकपटक नेपाललाई सहयोग नगर्न आग्रह गर्ने गरेको छ तर नाकाबन्दीको बेला अनुदानमा इन्धन दिएर वा हालसालै पारवहन, रेललगायतका सम्झौता गरेर चीन नेपालमा जस्तो सुकै सहयोग गर्न तयार रहेको देखिन्छ । तसर्थ चीनसँग १९६२ मा हार बिहोरेको भारतले फेरि चीनसँगको सम्बन्धमा तिक्तता आाउने गरि नेपालमा हस्तक्षेप गर्ने छैन ।

सिक्किम बिलय गरेजस्तै नेपाल पनि भारतमानै बिलय गराउन सम्भब छ ?

निकट भबिष्यमा जनमतसंग्रह वा सैनिक हस्तक्षेपबाट नेपाल टुक्रयाउन असम्भब छ किनकि उक्त कदमको नेपालमा मात्र नभइ भारतमासमेत बिरोध हुने छ । अहिले पनि मोदीको नेपाल नितीलाई ठुलो गल्ति भन्ने राजनितीज्ञ र बौद्धिक जमात भारतमा पनि धेरै छन । भारतको हित चाहने थिंक ट्याकंले पनि समर्थन गर्ने छैनन किनकि नेपालमा गरिने हस्तक्षेपजस्तै भबिष्यमा भारतमा पनि स्वतन्त्र अभियान चलाउनेहरुलाई पश्चिमाहरुले समर्थन गर्छन र भारत टुक्रयाउछन भन्ने कुराबाट उनीहरु अनिभिज्ञ छैनन् । नेपालजस्तो असल छिमेकी गुमाएर चीनसँग अर्को नयाँ सिमा क्षेत्रमा तनाब उत्पन्न गराउन हजारौ गोर्खाली समेत रहेको भारतीय सेना पनि तयार हुदैन ।

नेपाल अनन्तकाल सम्म रहिरहन्छ ?

विश्वमा शक्ति सन्तुलन फेरिए सँगै समग्र राजनैतिक, आर्थिक र सामाजिक ब्यवस्था परिबर्तन हुने र देशहरु बन्ने, टुक्रने र फेरि जोडिने गरेको तथ्य विश्व इतिहासले देखाउछ । तर देश बन्ने र टुक्रने कुरा सामान्य रहेछ भनेर वर्तमानमा पनि आफ्नो देशको स्वतन्त्रता र अखण्डता प्रति इमान्दार नहुनु भनेको मानिसको मृत्यु ध्रुव सत्य हो भन्दै नवजात शिशुलाई जन्म दिने बित्तिकै हत्या गर्नुजस्तै हो ।

भारत पनि पटकपटक टुक्रने र जोडिने प्रकियाबाट अछुतो छैन । बिगतमा धेरै ससाना राज्यहरुले शासन गर्ने नेपालको भुभाग अनन्तकालसम्म अखण्ड रहन्छ भन्ने ग्यारेन्टि छैन तर निकट भबिष्यमा खण्डित हुने सम्भवाना भने छैन ।

हेपाहा व्यवहारले भारतलाई फाइदा हुन्छ ?

नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै द्धन्दको बिउ आफै रोपेर सरकारलाई आफ्नो स्वार्थ अनुकुल संम्झौता गर्न बाध्य पार्ने प्रबृत्ति अन्ततः भारतकै लागि अहितकारी हुन्छ । भारतका केहि शक्ति केन्द्रहरु  नेपाललाई स्वतन्त्र देशको हैसियतमा स्वीकार्न चाहिरहेका छैनन तर स्वतन्त्र मधेसको नारामा हिंसा गर्ने बिखण्डनवादीलाई पालन, पोषण र संरक्षण गर्दा नेपालमा सल्केको आगो भारत पस्न धेरै समय लाग्दैन भन्ने कुरा भारतको संस्थापन पक्षले महसुस गर्नुपर्छ ।

नेपाल सधै भारतसँग मिलेर दुवै देशलाई फाइदा हुने गरि उर्जा, सिचाइँलगायतका कुरामा जलसम्पदाको उपयोग गर्न तयार छ । तर अस्थिर र गरिब नेपाल सधै आफ्नो प्रभाव क्षेत्रमा रहने गलत मान्यताका आधारमा भारतले असमान व्यवहार गर्दै आएको छ । भुइँको टिप्न खोज्दा पोल्टाको खस्छ भनेजस्तै हेपाहा व्यवहारले नेपालमा भारत बिरोधी भावना झन बढेर जादैँछ ।

भारतले अन्य देशको भौगोलिक अखण्डताको सम्मान गर्नु पर्दैन ?

राष्ट्रबिरोधी नारा लगाएको आरोपमा केहि महिना अघि भारतले जवाहारलाल नेहरु विश्वविद्यालयको विद्यार्थी संघका अध्यक्ष कन्हैयाकुमार सहित अन्य केहिलाई मुद्दा चलायो तर नेपालमा भने आफुलाई संसारका सबै भन्दा ठुलो लोकतान्त्रिक देश ठान्नेले बिखण्डनकारी शक्तिलाई समर्थन र सहयोग गर्दै आएको छ । नेपाल, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशसँग साम्राज्यबादीहरुलेजस्तै व्यवहार गर्ने भारतको क्षेत्रिय शक्ति बन्दै विश्व शक्ति बन्ने महत्वकांक्षा पुरा हुनै सक्दैन । भारतले मित्र देशको आन्तरिक बिषयमा निर्णय गर्ने र भौगोलीक अखण्डताको सम्मान गरेमात्र उसको सुरक्षा चिन्ता प्रति साना देशहरु संबेदनशिल हुन्छन भन्ने तथ्य हेक्का राख्नु पर्छ । भारतले सम्मान पाउनका लागि अरु देशका आन्तरिक बिषयमा निर्णय गर्ने र उसको भौगोलीक अखण्डताको सम्मान गर्नै पर्छ ।

चीन मौन बस्छ ?

शसस्त्र र निशस्त्र मधेसी समुहलाई जोड्दै निर्णायक आन्दोलनबाट स्वतन्त्र मधेस बनाउने योजना सफल नभएकाले स्वतन्त्र मधेस बनाउने पहिलो खुड्किलाका रुपमा भारतप्रति नरम र काठमाण्डौ बिरुद्ध एउटा शक्तिसाली प्रदेश बनाएर चीन बिरुद्ध गतिबिधि गरिने कुरामा चीन पनि सचेत छ । राष्ट्रसंघिय मिसन अनमिनले अाफ्नो हित बिपरित चलखेल गरेको निचोड निकाल्दै भारतले माधव कुमार नेपालको कार्यकालमा अनमिनलाई फिर्ता पठाउन दबाब दिनु परेको तथ्य पक्कै पनि भारतले बिर्सिएको छैन ।

अबको विश्व एसियाले नेतृत्व गर्ने सम्भावनालाई गलत साबित गर्न पश्चिमा शक्ति एसियाका शक्तिशाली देशहरुलाई एकअर्का सँग लडाएर उनीहरुको आर्थिक र सैनिक विकासमा अवरोध खडा गर्न चाहन्छन भन्ने तथ्यलाई आत्मासात गर्नु विश्व शक्ति बन्ने लक्ष्य राखेका भारत र चीनको निम्ति हितकर हुन्छ । अस्थिर नेपाल बनाएर उनीहरुको विकासको तगारो बन्ने योजना पुरा हुन नदिन चीन र भारत पक्कै पनि सचेत छन ।

मधेसबासी नेपालमा बिखण्डन चाहन्छन ?

नेपाल टुक्रयाउने धम्कि दिने र मधेसी दलको हारलाई भारतको हार भन्ने दलहरुलाई मधेसमानै जनाधार छैन । नेपाल अधिराज्यभरि भएको बिभेद, गरिबी, असमानता, थिचोमिचोको फाइदा उठाएर नेपाल टुक्राउने अभियान चलाउने केहि परिचालित तत्वहरु छन तर अधिकांस मधेसबासीलाई नेपाल अत्यन्त प्यारो छ र भारतको थिचोमिचोबाट सबै भन्दा बढी पीडा भोग्दै सिमाको रक्षा पनि उनीहरुले नै गर्दै आएका छन ।

चीनलगायतका देशको सहयोग लिएर उर्जा, सडक तथा रेल सञ्जाललगायतका विकासका पुर्वाधा निर्माण गर्ने इमान्दार शासक सत्तामा पुर्याउन सकियो भने नेपालजस्तो प्राकृतिक स्रोतमा धनी देशमा छिटो विकास सम्भब छ । नेपालमा भन्दा ठुलो जातीय, धार्मिक, क्षेत्रिय र लैगिंक विभेद भारतमा रहेको अनि भारतमानै हजारौ गरिब र किसानहरुले बर्षेनी आत्महत्या गर्नु पर्ने दर्दानाक अवस्था भएकाले इमान्दार शासक सत्तामा पुर्याउन सके नेपालनै स्वर्ग बन्ने कुरामा मधेसका जनता पनि बिश्वस्त छन । तसर्थ निकट भबिष्यमा साम्राज्यबादीसँग समेत कहिल्यै स्वतन्त्रता नगुमाएको नेपाल टुक्रिने सम्भावना छैन ।

अबको सामाधान के हो ?

विभाजित समाज कुनै पनि देशको अखण्डताका लागि सधै खतरा हुन्छ । गरिबी, अशिक्षा, असमानता र बिभेद रहेको देशलाई खरानी बनाउन एउटा सानो आगोको झिल्कोनै पर्याप्त हुन्छ । तसर्थ भ्रष्टचार, बेथिती, दण्डहीनता, जमिन्दारीप्रथा, छुवाछुत, कमलरिप्रथा लगायतका तमाम समस्याको सामाधान गर्नु पर्छ । नेपाली जनतालाई एक ढिक्का बनाउन सके अस्थिर नेपाल बनाउन नेपालीहरुलाई एक आपसमा लडाउन प्रयासरत तत्वहरु पनि आफै पाखा लाग्ने छन र उनीहरुको नेपालमा हतियार बेच्ने बजार बनाउने सपना पनि पुरा हुने छैन ।

meetsumanbaral@yahoo.com