८ भदौ, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टिकापुरमा सोमबार भएको हिंसात्मक घटनाबारे निष्पक्ष छानविन गर्न माग गरेको छ ।

प्रदेशहरुको सीमाङ्कनको विषयलाई लिएर टीकापुर क्षेत्रमा भएको प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी तथा दुई वर्षीय बालक समेतको हत्या भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी गरिएको एक विज्ञप्तिमा संयमता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

National human right
आयोगले घटनालाई सुक्ष्म रुपमा अनुगमन गर्न आजै त्यसतर्फ एक अनुगमन टोली परिचालन गरेको जानकारी पनि दिएको छ ।

कैलाली घटनापछि कोइरालालाई मोदीको फोन

सरकारले नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको अवस्थामा हरेक कार्यहरु मानव अधिकारको आधारभूत मूल्य र मान्यता एवं प्रचलित कानूनी प्रक्रिया बमोजिम हुन र सो कार्यबाट नागरिकको मानव अधिकारको उल्लंङ्घन हुने अवस्था आउन नदिने तर्फ पनि आयोगले सचेत गराएको छ ।

एमाओवादी बैठकले भन्योः सेना परिचालन गर्नु हुन्न

पढ्नुस् आयोगको विज्ञप्ति पूर्णपाठ

प्रेस विज्ञप्ति, २०७२ भदौ ८ गते

कैलाली घटनाको निष्पक्ष छानविन गर्न आग्रह, संयम र संवेदनशील बन्न जोड ।

नयाँ बन्ने संविधानमा प्रदेशहरुको सीमाङ्कनको विषयलाई लिएर कैलालीको टीकापुर क्षेत्रमा भएको प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी तथा दुई वर्षीय बालक समेतको हत्या भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अमानवीय घटनामा मृत्यु भएकाहरुप्रति आयोग हार्दिक समवेदना प्रकट गर्दै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न तथा घाइते भएका सम्पूर्ण सुरक्षाकर्मी, आन्दोलनकारी तथा सर्वसाधारण नागरिकको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाउन तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धी, १९६६ ले व्यक्ति तथा समुदायको पहिचानको अधिकारलाई सुनिश्चित गरेता पनि त्यस्तो अधिकारको लागि हुने आन्दोलन शान्तिपूर्ण हुन जरुरी छ । हिंसा र हतियारयुक्त आन्दोलनबाट कहीं पनि शान्ति, संवृद्धि, अस्तित्व र पहिचान दीगो हुन नसक्ने हुँदा त्यसतर्फ सजग रहन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।

आयोगले घटनालाई सुक्ष्म रुपमा अनुगमन गर्न आजै त्यसतर्फ एक अनुगमन टोली परिचालन गरेको छ । सरकारले नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको अवस्थामा हरेक कार्यहरु मानव अधिकारको आधारभूत मूल्य र मान्यता एवं प्रचलित कानूनी प्रक्रिया बमोजिम हुन र सो कार्यबाट नागरिकको मानव अधिकारको उल्लंङ्घन हुने अवस्था आउन नदिने तर्फ आयोग सम्बन्धित सबैलाई सचेत रहन आग्रह गर्दछ ।

घटनाका दोषीहरुको स्पष्ट पहिचान गरी कानूनको दायरामा ल्याई कारबाही गर्न तथा सामाजिक सद्भाव कायम राख्न र संयमित रहन आयोग सम्बन्धित सबैलाई आग्रह गर्दछ । आफ्ना मागहरु राखी तथा प्रदर्शन गर्दा शान्तिपूर्ण ढंगबाट प्रस्तुत हुन र त्यस्तो प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न तथा सर्वसाधारणको जीउ ज्यान र भौतिक सम्पत्ति नष्ट हुन नदिन आयोग प्रदर्शनकारी र सुरक्षा निकायलाई आग्रह गर्दछ ।

साथै अहिलेको विषम परिस्थितिमा सम्बन्धित सबैले धैर्य र संयमताकासाथ परिस्थितिलाई थप उत्तेजित हुने अभिव्यक्ति नदिई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।