gore bahadur khapangi६ साउन, काठमाडौ । तीन महिनादेखि नर्भिक अस्पतालमा उपचारार्थ पूर्वमन्त्रीको उपचारको सम्पूर्ण खर्च उपलब्ध गराउन गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिले सरकारसँग माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक शङ्कर लिम्बूले गत वैशाख १२ गते अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवका दिन महोत्सवमा भाग लिन जाने क्रममा पुरानो बसपार्क काठमाडौँमा बा५१प ७३७३ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएदेखि उनी उपचारका क्रममा रहेको बताए ।

उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको र टाउकामा गम्भीर चोट लागेको थाहा भएपछि अस्पतालको सिफारिसबाट आपत्कालीन उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल सिंहदरबारमा आकस्मिक भर्ना गरी टाउकाको शल्यक्रिया गरिएकामा करिब छ हप्तासम्मको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि सघन उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा सारिएको छ ।

नर्भिक अस्पतालबाट पनि उपचारमा सुधार हुन नसकेको बताउँदै संयोजक लिम्बूले नेपाल बाहिर सिंगापुर वा भारत नयाँदिल्लीको मेदान्त अस्पतालमा लानुपर्ने स्थिति सिर्जना भएकाले आवश्यक खर्च जुटाइन दिन सरकारसँग माग गरेका छन् । पूर्वमन्त्री खपाङ्गीको उपचारका लागि आर्थिक सहयोग सङ्कलनका क्रममा देशविदेशका शुभचिन्तकबाट र सरकारका तर्फबाट रु दुई लाख गरी करिब २२ लाख सहयोग रकम सङ्कलन भइसकेको र त्यसमध्ये करिब रु २० लाख उपचारका लागि खर्च भइसकेको जनाइएको छ । रासस