६ साउन, काठमाडौ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले राष्ट्रिय मुक्ति आन्दोलनलाई सफल बनाएर नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यभार सच्चा कम्युनिस्टले बोक्नुपर्ने बताएका छन् ।

पृष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत) द्वारा आयोजित विचार गोष्ठीमा नेता गुरुङले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यक्रम ल्याए पनि त्यसलाई पूरा गर्ने कसम खाएका कतिपय नेताले साम्राज्यवाद र विस्तारवादसँग आत्मसमर्पण गरेको आरोप लगाए र कार्यक्रममा नेकपा (एकीकृत) का महासचिव परी थापाले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालले सिर्जना गरेको क्रान्तिकारी मूल्य र मान्यतालाई अनुसरण गर्न आह्वान गरे ।

नेकपा (माले –समाजवादी) का अध्यक्ष विष्णुराज अर्याल, नेकपा (माओवादी) का संयोजक मातृका यादव, नेकपा (माले) का नेता कपिल पोखरेल, बुद्धिजीवी लोककृष्ण भट्टराईलगायतले राष्ट्रियताका सवालमा पुष्पलालका विचारलाई पछ्याउन आवश्यक भएको बताए । रासस