१४ वैशाख, काठमाडौं ।

विनाशकारी महाभूकम्पको त्रासले सहरका विभिन्न खुला आकाशमुनि दिनरात काटेका नेपाली नागरिकले सरकारको राहत महसुस गर्न नपाएको गुनासो गरेका छन् ।

शनिबारदेखि गएको भूकम्पको त्रासले घरमा बस्न नसकी आआफ्नो आसपासका खाली स्थानमा बस्दै आएका नागरिकले सरकारी राहत नाममा ओतका लागि पाल र पिउने पानीसमेत नपाएको बताएका हुन् । भूकम्प पुनः आइरहने त्रासले खुलामञ्चमा तीन दिनदेखि बस्दै आउनुभएकी रेनु श्रेष्ठले भन्नुभयो, “खै तीन दिनसम्म सरकारी राहतको नाममा पिउने पानीसम्म त पाएका छैनौँ, बस्नका लागि पालको त कुरै छाडौँ ।”
जनतामा चिन्ता र त्रास फैलँदा पनि सरकारले सहयोग नगरेको खुलामञ्चमा बस्दै आएकी हिमा भुजेलले पनि दुःखेसो गर्नुभयो ।

“फेरि भूकम्प आउला जस्तो लाग्छ, घरमा बस्न सक्ने अवस्था छैन, राति हावाहुरी र पानीले भिजेर बिरामी पर्न लागिसकियो”, भृकुटीमण्डपको उद्यानमा बसिरहेकी सरस्वती गौतमले गुनासो गरिन ।

Earthquake effect nepal huge (16)

भूकम्पको त्रासले सुरक्षाका लागि सिंहदरबारभित्र पूर्वी ढोकातर्फ बस्नुभएकी वसन्ता कार्कीले “सिंहदरबारभित्र बस्नेहरुले त एउटा पालसम्म पाएका छैनन् भने अरुले के राहत पाउलान् ?” प्रश्नको शैलीमा आक्रोश व्यक्त गर्नुभयो ।

भारतीय राजदूतावासका पूर्वकर्मचारी अजयकुमार दासले आफूहरु खुलामञ्चमा दिनरात बसेको तीन दिन बितिसक्दा पनि सरकार छ भन्ने अनुभव गर्न नपाएको सुनाए ।

सुत्केरी, वृद्धवद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी र बालबालिका पनि खुला चौरमा बसेका छन् । भूकम्पपीडितलाई पानीले झन् पीडा दिएको छ ।

Bhukampa pachhi behal (13) Bhukampa pachhi behal (12) Bhukampa pachhi behal (11)

गृह मन्त्रालयका अनुसार वास्तविक पीडित पहिचान गरी पाल, खाद्य सामग्रीलगायत वितरण गर्न कुनै कसर बाँकी नरहेको जनाएको छ भने आजै भारत सरकारको सहयोगबाट प्राप्त खाजास्वरुप खाद्यान्न नेपाली सेनाले बाँडेको छ ।

अव्यवस्थित सहरीकरणका कारण मानिस काठमाडौँ उपत्यकामा खाली ठाउँ खोज्दै हिँडेका छन् । खाली ठाउँ खोज्ने क्रममा आफू बसेको स्थानबाट निकै टाढा टाढासम्म आश्रय खोज्दै हिँडेका छन् ।

कहाँ कहाँ आश्रय
राष्ट्रपति निवासभित्रको प्राङ्गणमा पनि पालमा मानिस बसेका छन् । त्यहाँ बस्नेलाई खाजा, पानी दुई पटक दिइरहेको बताइएको छ ।
त्यस्तै अन्य समयमा सर्वसाधारणका लागि सहज पहुँच नभएका स्थान नारायणहिटी दरबार, सिंहदरबार, टुँडिखेल (सैनिक मञ्च), संविधानसभा भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र) भित्र मानिसलाई बस्ने व्यवस्था गरिएको छ ।

अन्य बेला शुल्क तिरेर प्रवेश गर्नुपर्ने दशरथ रङ्गशाला, भृकटीमण्डपलगायत स्थानमा र अन्य बेला प्रवेश निशेष गरिएका स्थानमा पनि सर्वसाधारणका लागि बस्न खुला गरिएको छ ।

भूकम्पको त्रासले मानिस मठमन्दिर, विद्यालय, क्याम्पस, नदी किनारका दुवै किनार, गाडी, चौरलगायत स्थानमा बसेका छन् । खुला ठाउँमा बस्दा हावापानीको त्रासले मानिसलाई झन् पीडित र दुःखित बनाएको छ ।

Bhukampa pachhi behal (10) Bhukampa pachhi behal (9) Bhukampa pachhi behal (8)

खाद्य सामग्रीको मूल्य वृद्धि
भूकम्प आएपछि अतिआवश्यक खाद्य सामग्री पानी, चाउचाउ, बिस्कुट, लेज, कुरकुरे, जुसलगायत मूल्यवृद्धि गरिएको सेवाग्राहीको गुनासो छ । भृकुटीमण्डपभित्रको पार्कमा बस्नुभएका सुजन निरौलाले आफूले रु १५ पर्ने पानीलाई रु ३० तिरेर किन्नुपरेको तथा रु १५ पर्ने चाउचाउ रु २५ तिरेर किनेको बताए । त्यस्तै रु १० पर्ने बिस्कुटलाई रु १५, रु २५ पर्ने लेजलाई रु ३५, रु २५ पर्ने जुसलाई रु ३५ निरेर किन्नुपरेको गुनासो आएको छ ।

Bhukampa pachhi behal (5) Bhukampa pachhi behal (4) Bhukampa pachhi behal (3)

शौचालयको समस्या
भूकम्पका कारण विभिन्न स्थानमा खुला ठाउँमा बस्दै आएका मानिसलाई शौचालय नभएका कारण समस्या भएको छ ।

घुम्ती शौचालय नभएको अभाव र अस्थायी शौचालय केही भए पनि पानीको समस्याका कारण त्यसबाट दुर्गन्ध फैलिएर बिरामी हुन सक्ने खतरा बढेको मानिसको गुनासो छ ।

खुलामञ्चमा बस्दै आउनुभएकी मीरा श्रेष्ठले मानिसहरुको चाप, जथाभाबी दिसापिसाब गर्नाले रोग फैलने खतरा भएको र त्यहाँ पनि सजिलैसँग बस्ने सक्ने अवस्था नभएको बताए ।

Bhukampa pachhi behal (2) Bhukampa pachhi behal (1) Nepal Earthquake tent 2

 

राससको सहयोगमा