कुशल श्रेष्ठ
दिनानुदिन गर्मीको मात्रा बढ्दैछ र जस्तोसुकै प्रौढ व्यक्तिलाई पनि यो प्रचण्ड गर्मीमा टिक्न गाह्रो पर्दछ भने एउटा नाबालक शिशुलाई यो गर्मीले कस्तो हालत बनाउँछ भनेर तपाईँ कल्पना मात्र गर्न सक्नुहुन्छ।
हुन त ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ, उसको अन्तरआत्मालाई थाहा हुन्छ कि आफ्नो बच्चालाई के ठीक र के बेठीक भनेर। तैपनि कतिपय आमाले आफ्नो बच्चाको ख्याल राख्नमा चुकिराखेका हुन्छन्, जसको कारण बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ।
गर्मी बढ्दै जाँदा निम्न साधारण उपायले तपाईँ आफ्नो बच्चालाई आरामदायी र ठण्डा वातावरणको सिर्जना गर्न सक्नुहुन्छ:-
१. बच्चाको लागि सही कपडा छान्नुहोस्
सिन्थेटिक अनि जिन्सको कपडाले घामको ताप सोस्दछ र बच्चाको नाजुक छालामा घमौरा आउन सक्ने हुन्छ। त्यसैले बच्चाको लागि कपडा लिँदा सुती अथवा कपासको शितल गराउने खालको कपडा लिनुपर्दछ।
बाहिर घाममा निस्कँदा लामोबाहुला भएको, हलुका अनि सेतो रङ्गको कपडा लगाइदिनुपर्दछ। कालो कपडाले गर्दा बच्चाको छालामा घामको सीधा असर पर्न जान्छ।
२. चर्को घाममा बच्चालाई सकेसम्म बाहिर ननिकाल्नुहोस्
अहिलेका दिनहरूमा विहानको १० बजेदेखि दिउँसोको ३/४ बजेसम्म प्रचण्ड चर्को घाम लाग्ने गर्दछ। यदि तपाईँ नवजात शिशुको अभिभावक हुनुहुन्छ भने यो बखतमा बच्चालाई लिएर बाहिर ननिस्कँदै उचित हुन्छ। र यदि निस्कनै परेमा पनि बच्चाको छालामा घाम नपर्ने गरी हलुका लुगा लगाइदिएर मात्रै बाहिर निकाल्नुहोस्।
३. बच्चालाई पानीको कमि हुन नदिनुहोस्
यदि तपाईँको बच्चा ६ महिनाभन्दा कम उमेरको छ र तपाईँले स्तनपान गराउनुहुन्छ भने, जस्तोसुकै गर्मीको बेलामा पनि उसलाई पानी दिइराख्नुपर्दैन। किनभने आमाको दूधमा हुने पौष्टिक तत्वले बच्चाको शरीरमा पानीको कमि हुन दिँदैन।
तथापी, गर्मी मौसममा तपाईँको बच्चाले सामान्यभन्दा बढिपटक नै दूधको चाहना गर्न सक्छ। किनभने उसले सुसु पनि उत्तिकै गरिरहेको हुन्छ। यस्तो बेलामा उसले छिनछिनमै तर थोरै-थोरै दूध पिउन खोज्दछ र तपाईँले पनि उसको चाहना पूरा गर्नुपर्दछ। यसले बच्चाको शरीरमा पानीको कमि हुन दिँदैन।
यदि तपाईँको बच्चाले ठोस खाना खान सक्ने भैसकेको छ भने गर्मीको बेलामा शीतलताको लागि, घरमै बनाएको लस्सी, ताजा फलफूलको जुस तथा नरीवलको पानी पिउन दिनुपर्दछ, जसले भरपूर पौष्टिक तत्वको साथसाथै शीतलता पनि दिइरहेको हुन्छ।
४. बाहिरको प्याकेटको खानेकुरा भरसकै नदिनुहोला
बाहिरको खानाले प्रौढ व्यक्तिलाई त असर गर्न सक्छ भने प्रतिरक्षा प्रणाली राम्रोसँग विकसीत नभएको नाबालकलाई किन असर नगरोस्? त्यसैले बच्चाहरूलाई बाहिरको आइसक्रीम, प्याकेटको जुस, पेप्सी, कोला, जस्ता खानेकुराहरू खान नदिनुहोस्। यस्ता खानेकुराहरूले तपाईँको बच्चालाई बिरामी पार्न सक्छ।
कतै बाहिर जाँदा बच्चाको लागि थोरै खाना आफैले बोक्ने गर्नुहोस्। दूधे बालक छ भने त चिन्ताको विषय भएन, तर ठोस खाना खाने बालकको लागि आफैले घरबाटै खानेकुरा लैजानु उचित हुन्छ। तर बच्चालाई कुनै पनि खानेकुरा दिनुभन्दा अगाडि पहिला आफैले चाखेर हेर्नुहोस् कि गन्हाएको वा बिग्रिएको छ कि छैन। किनभने गर्मीको बेलामा खानेकुराहरू बिग्रिन कुनै बेर लाग्दैन।
५. तेलले मसाज गर्दा विचार पुर्याउनुहोस्
गर्मीको बेलामा, बच्चालाई तेलले मसाज नगरेकै जाति हुन्छ, किनभने गर्मी महिनामा यस्तो चिल्लो पदार्थले बच्चाको छालामा घमौरा ल्याउने, अधिक पसिना निकाल्ने जस्ता खतरनाक समस्या ल्याउन सक्छ।
६. बच्चालाई एकछिन पानीमा खेल्न दिनु पनि आवश्यक हुन्छ
गर्मीको मौसम भनेको बच्चाहरूले पानीसँग खेल्न पाउने राम्रो समय हो। तपाईँहरूलाई त थाहा भएकै कुरा हो कि बच्चाहरू पानीमा खेल्न कति रुचाउँछन् भनेर। त्यसैले एउटा फराकिलो तर धेरै गहिरो नभएको बाटामा पानी राख्नुहोस् अनि खेलौना राखिदिनुहोस् र बच्चालाई खेल्न दिनुहोस्। एकछिन उसलाई पानीसँग रमाइलो गर्न दिनुहोस्।
तर, ध्यान रहोस् कि बच्चालाई एक्लै छाडेर कतै पनि नजानुहोस्, एक सेकेण्डको लागि पनि! किनभने बच्चाहरू जतिसुकै पानीमा पनि डुब्न सक्छन्।
७. नुहाएपछि AC लगाएको कोठामा नलैजानुहोस्
बच्चाको छाला नरम र पातलो हुन्छ, जसको कारण बाहिरबाट सजिलै सित चिसो र तातो उसको शरीरभित्र प्रवेश गर्न सक्छ। त्यसैले बच्चालाई नुहाएपछि नरम कपडाले सबै शरीर र कपालको चिसो पुछिसकेपछि मात्रै AC अन गर्नुहोला अथवा पङ्खा चलाउनुहोला।
८. लामखुट्टेबाट बचाउनुहोस्
मलेरिया, ज्वरो तथा हाल जिका भाइरसको प्रकोपले गर्दा यो गर्मी महिनामा बच्चालाई मात्रै प्रौढलाई पनि अझ बढि सजग हुनुपर्ने अवस्था सिर्जना भएको छ। गर्मीको बेलामा फोहोर चाँडै नै कुहिन थाल्छ र त्यसबाट विभिन्न किसिमका किटाणू तथा लामखुट्टे आउन सक्छ, त्यसैले राति सुत्दा झुलको व्यवस्था गर्नुपर्दछ। बच्चाको कोठामा लामखुट्टेको धूप, म्याट तथा लिक्वीड बाल्नु हानिकारक हुन्छ। यसले पछि गएर बच्चालाई टाउको दुख्ने, आँखा कमजोर हुने तथा दम जस्ता घातक रोगले सताउन सक्छ।
९. बच्चाको कोठामा भेण्टिलेसनको व्यवस्था गर्नुहोस्
गर्मीको बेलामा राति कोठाको झ्यालढोका बन्द गर्दा उकुसमुकुस हुन सक्छ र बच्चालाई सास फेर्न गाह्रो पर्न सक्दछ। किनभने उसको फोक्सोको क्षमता राम्रोसँग विकसीत भैसकेको हुँदैन। त्यसैले राति झ्यालबाट थोरै भएपनि हावाको आवतजावत गराउनु आवश्यक हुन्छ। अझ उचित त जालीवाला झ्याल लगाउनु हुन्छ, यसले लामखुट्टे पनि आउन दिँदैन र हावालाई पनि छानेर पठाउँदछ।
१०. चिकित्सकको सल्लाह अनुसार मात्रै क्रिम तथा पाउडरको प्रयोग गर्नुहोस्
बच्चाको शरीरमा लगाउने बेबी पाउडर, बेबी क्रिम तथा बेबी तेलको प्रयोग गर्दा एकपटक चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ। किनभने जथाभावी यस्ता रसायनिक पदार्थको प्रयोग गर्दा बच्चाको छालामा एलर्जी लगायत विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन सक्छन्।