२० जेठ,पर्सा । वीरगन्जको भिष्वाबाट प्रहरीले शनिबार राति यौन व्यवसायमा संलग्न रहेको अभियोगमा एक गाविस सचिवको घरमा छापामारी केही युवतीलाई नियन्त्रणमा लिएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ भिष्वा निवासी गाविस सचिव विन्दाप्रसाद साहले आप्नै घरमा युवतीहरु राखी यौन व्यवसाय चलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी सचिवका साथै १८ जना युवतीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले छापा मार्दा गाविस सचिव साहको घरमा आपत्तिजनक अवस्थामा रहेका दश युवतीलाई नियन्त्रणमा लिएको र अन्य आठ जनालाई छिमेकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका युवती तथा गाविस सचिवलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

पक्राउ परेका गाविस सचिव पर्साको गाविस डोकैलाबहुवरीमा कार्यरत रहँदा नक्कली लगत खडागरी कल्याणकारी बजेट हिनामिना गरेको अभियोगमा स्थानीय बासिन्दाले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको छानबिन चलिरहेको बताइएको छ ।

नेपाल सरकारले पठाएको कल्याणकारी बजेट वितरण नै नगरी कीर्ते लगत खडागरी हिनामिना गरेको फेला परेपछि हाल उनलाई अख्तियारले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । रासस