चिनियाँको मल्टिनेशनल टेक्नोलोजी कम्पनी हुवावेले यो हप्ता ठूला ठक्कर खाएको छ जसले उसको विश्वव्यापी व्यापारमा ठूलो नोक्सान हुने निश्चित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक्जुकेटिभ अडर पश्चात गुगलले हुवावेको एन्ड्रोइड लाइसेन्स रद्ध गरेको थियो।

अब इन्टेल, क्वालकमले र ब्रोडकम जस्ता चिप बनाउने यी ठूला कम्पनीहरुले पनि हुवावेसंगको सम्झौता रद्ध गरेका छन्। साथै जर्मन चिपमेकर इन्फेनियन टेक्नोलोजिले पनि हुवावेसंगको व्यापार बन्द गरेको छ।

इन्टेलले हुवावेलाइ सर्भर चिप र ल्यापटपको प्रोसेसर बेच्ने गर्थ्यो। त्यस्तै क्वालकमले हुवावेका इन्टरनेट डिभाइसका लागि मोडम तथा प्रोसेसर दिन्थ्यो। हुवावे आफैले पनि चिपहरु बनाउँदै आएको छ। तर खबर छ कि चिप डिजाइनर आर्मले पनि हुवावेसंग व्यापार सम्झौता रद्ध गरेको छ। अर्थात अब हुवावे आफैले पनि चिप बनाउन सक्दैन।

अब हुवावेले स्मार्टफोन र ल्यापटपको लागि अपरेटिङ स्टिम अनि प्रोसेसर पनि आफैले बनाउनु पर्ने हुन्छ। यसरी हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा हुवावेले संकटको सामना गर्नुपर्ने भएको हो।

हार्डवेयरको लागि तयार नभएपनि सफ्टवेयर आफैले बनाउन भने हुवावेले केही वर्ष अघि देखि नै तयारी सुरु गरिसकेको थियो। तर चीन भन्दा बाहिर अन्य देशहरुमा हुवावेका स्मार्टफोन र ल्यापटपको बिक्रि झण्डै ठप्पै हुनसक्ने अनुमान गर्न भने गाह्रो छैन।

अमेरिकाले यसरी व्यापार सम्झौता रद्ध गर्न सक्ने सम्भावना बनिरहँदा पछिल्ला केही महिना देखि हुवावेले आफुसंह ‘प्लान बी’ भएको बताइरहेको थियो। यस अन्तर्गत, हुवावेले एन्ड्रोइड र विन्डोजको वैकल्पिक अपरेटिङ सिस्टम बनाउन केही वर्ष अघि देखि नै काम गर्दै आएको छ। हुवावेका कन्जुमर बिजनेसका सिइओ रिचर्ड युको अनुसार यो अपरेटिङ सिस्टम यही वर्षको अन्तिमसम्म तयार हुनेछ र चीन बाहेक अन्य देशका प्रयोगकर्ताले सन् २०२० को बिच तिरबाट प्रयोग गर्न पाउने छन्।

एन्ड्रोइड र विन्डोजको विकल्पको लागि हुवावेले बनाउँदै गरेको अपरेटिङ सिस्टमको बारेमा धेरै जानकारी बाहिर आइसकेको छैन। तर यो एन्ड्रोइडको ओपन सोर्स भर्जन (AOSP)मा आधारित हुने अनुमान गरिएको छ। जसमा हुवावेकै एप ग्यालरी स्टोर हुनेछ। गुगलले व्यापार सम्झौता कटौती गरेपछि हुवावेका फोनमा गुगलको प्ले स्टोरले काम गर्नेछैन। अर्थात अपरेटिङ सिस्टम बनाएपनि विभिन्न एपहरुको लागि हुवावेले आफ्नै एप स्टोर बनाउनु पर्ने हुन्छ। त्यसैको लागि हुवावेले एप ग्यालरी स्टोर पनि यो अपरेटिङ सिस्टममा समावेश गर्ने भएको हो।

चीनमा अहिले पनि गुगलको प्ले स्टोर बिना नै आफ्नै अपरेटिङ सिस्टम (एन्ड्रोइनको ओपन सोर्समा आधारित) सहित फोनहरु बेचिरहेको हुवावेले सन् २०१८ को सुरुवात देखि नै चीन बाहिर पठाउने फोनहरुमा पनि आफ्नो एप ग्यालेरी समावेश गर्ने गरेको थियो।

तर, एन्ड्रोइडको वैकल्पिक अपरेटिङ सिस्टम विश्व बजारमा टिकेको एउटा पनि घटना छैन। चाहे तो एन्ड्रोइडकै ओपन सोर्समा आधारित भएर विकास गरिएका सिस्टम नै किन नहोस। जस्तो कि, मोजिलाले फायरफक्स अपरेटिङ सिस्टममा धेरै वर्ष मेहेनत गर्यो र अन्ततः सन् २०१५ मा हार खाएर यो प्रोजेक्ट नै छोडिदियो। क्यानोनिकलले ‘उबुन्तु फोन’मा मेहेनत गर्यो, जसको बारेमा कमैले मात्र थाह पाए। माइक्रोसफ्टले विन्डोज फोन उतार्यो। सामसुङको टाइजेन अपरेटिङ सिस्टम जसलाई गुगलको एन्ड्रोइडको लागि थ्रेट नै मानिएको थियो, अन्ततः उसले आफ्ना स्मार्टवाच र टिभीमा मात्र यो प्रणाली समावेश गर्यो। आफ्नै अपरेटिङ सिस्टम बनाउने होडमा ब्ल्याकबेरीले पनि असफल प्रयास गरेको थियो। यस्तो इतिहासका बिच हुवावे कति सफल हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।

किन गाह्रो छ एन्ड्रोइडलाइ टक्कर दिन?

विभिन्न कम्पनीहरुका यी असफल प्रयासको विभिन्न कारण छन, तर मूख्य कारण हो गुगलसंग टक्कर गर्नु। वेब सर्च मार्केटमा गुगलको झण्डै ९० प्रतिशत पकड छ। बिङ, याहु, बाइडु, एन्डेक्स जस्ता अन्य सर्ज इन्जिनहरु मिलेर पनि १० प्रतिशत बजार लिन सकेका छैन। यसले गुगललाई क्रोम, जिमेल, युट्युब, गुगल म्याप्स, गुगल डक्स जस्ता चर्चित वेब सर्भिस सञ्चालन गर्न सहयोग पुगेको छ।

यदि एन्ड्रोइड ओपस सोर्स अपरेटिङ सिस्टम भएको स्मार्टफोन चलाउने हो भने, त्यसमा गुगलले प्ले स्टोरको सुविधा दिदैन। अर्थात फोन त चल्छ तर एपहरु डाउनलोड गर्न मिल्दैन। अर्थात यी फोनहरु किन्नुको कुनै औचित्य हुँदैन।

यसरी चिप, प्रोसेसर, अनि अपरेटिङ सिस्टम नै सबै आफैले बनाउनु पर्ने अवस्था आइदिदाँ हुवावेले विश्व बजारमा अब छलाङ मार्न सक्ला भन्नु झण्डै असम्भव जस्तै देखिन्छ।

अहिले बजारमा आइसकेका हुवावेका मोबाइलहरुमा भने खासै समस्या पर्दैन। गुगल र हुवावे दुवै कम्पनीले बजारमा गइसकेका स्मार्टफोनहरुले साविक झै सफ्टवेयर अपडेट पाउने बताइसकेका छन्।