१५ चैत, जाजरकोट । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लक डाउन गर्दा गुल्मीमा सडकको काम गर्दागर्दै अलपत्र परेका ३४ मजदूरको उद्धार गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा ३४ मजदूरको उद्धार गरिएको हो । शनिबार ३४ मजदूर घर पुगेको रुकुम पश्चिम सानीभेरी नगरपालिकाका शेरबहादुर परियारले जानकारी दिए । उनले भने, ‘काम गर्दागर्दै कोरोनाको त्रासले लक डाउन हुँदा समस्यामा परेका थियौँ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई फोन गरेपछि उहाँहरुले हामीलाई जिल्लासम्म आउने व्यवस्था मिलाउनुभयो, शनिबार घर पुगियो ।’

जाजरकोट भेरी नगरपालिका र नलगाड नगरपालिकाका ३० र रुकुम पश्चिम सानीभेरी नगरपालिकाका चार गरी ३४ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई स्थानीय सरकारको पहलमा सेल्फ क्वारेन्टाइनमा राखिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । रासस