११ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । सबै निकायले प्रतिवेदन पनि तयार गरिएकै पाइन्छ तथापि त्यसको प्रभावकारिताले अर्थ राखेको देखिँदैन ।

सामान्यतः यो अवस्थालाई कर्णाली प्रदेश अस्पतालको गत आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा दिएको सुरक्षित सुत्केरी सेवाले प्रष्ट पार्दछ । आर्थिक वर्ष ०७४/०७५ मा प्रदेश अस्पतालमा सुत्केरी हुनेको सङ्ख्या तीन हजार ९९५ थियो । जसमा १८ वर्षमुनि आमा बन्ने किशोरीको सङ्ख्या ५१६ थियो । यो कूल सुत्केरी महिला सङ्ख्याको १२ प्रतिशत हो ।

त्यसैगरी, आर्थिक वर्ष ०७५/०७६ मा उक्त अस्पतालमा चार हजार ४१९ महिला सुत्केरी भए । सो आर्थिक वर्षमा १८ वर्षमुनि आमा बन्ने किशोरीको सङ्ख्या ५१७ थियो । गत आवमा प्रदेश अस्पतालमा सुत्केरी हुने कूल महिलाको सङ्ख्याको ११.६८ प्रतिशत किशोरी रहेको सूचना अधिकारी विनोद बस्नेतले राससलाई जानकारी दिनुभयो । ‘किशोरी अवस्थामा आमा बन्नेको तथ्याङ्क यो प्रदेश अस्पतालको मात्र हो’, सूचना अधिकारी बस्नेतले भन्नुभयो, ‘प्रदेश अस्पतालबाहेक सुर्खेतका अन्य स्वास्थ्यचौकीको तथ्याङ्कलाई मिलाउँदा किशोरी आमाको सङ्ख्या अझ बढी हुन आउँछ ।’ उहाँका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी पहुँच नभएका किशोरी आमाको सङ्ख्या पनि त्यतिकै छ ।

उहाँका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा मृत्यु हुने नवजात शिशुको सङ्ख्या २४ हुँदा आर्थिक वर्ष ०७५/०७६ मा बढेर २८ पुगेको छ । सुरक्षित गर्भपतन परारको सालमा ३६० र गत वर्ष ३५६ रहेको सूचना अधिकारी बस्नेतको भनाइ छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि किशोरी अवस्थामा सुत्केरी हुनेको सङ्ख्या पनि कमि छैन । प्रतिष्ठानको आर्थिक वर्ष ०७४/०७५ मा यहाँ कूल सुत्केरी ६७४ सुत्केरी महिलामा १७९ किशोरी रहेको शिक्षण अस्पतालका निर्देशक धर्मराज गोसाईंले राससलाई जानकारी दिनुभयो । निर्देशक गोसाईंका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा कूल ६७८ मा १४६ किशोरी आमा बनेकी छन् ।