३ त्रिशूली (नुवाकोट) । देउराली र बुङ्ताङसहित १० गाविसका बासिन्दाले यातायात व्यवसायीबाट ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

त्रिशूलीबाट देउरालीसम्मको १५ किमि सडकको सवारी भाडा रु ९० लिएको भन्दै भाडा समायोजनको मागसहित स्थानीयवासीले बुधबार जिप्रकामा उजुरी दिएका हुन् । देउरालीसम्म ग्राभेल मोटरबाटो भए पनि पासाङल्हामु यातायात सेवा समितिका बसको साथै मिनीट्रकले पनि रु ९० भाडा असुल गर्दै आएको भूमेदेवी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर तामाङले बताए ।

जिप्रकाले भाडादर निर्धारण गर्दा रु ६ तोके पनि बस व्यवसायीले रु ३० बढी असुल गर्दै आएको अध्यक्ष तामाङले बताउनुभयो । एक सयभन्दा बढी स्थानीय बासिन्दा सदरमुकाम आएर प्रजिअ डुल्लुराज बस्नेतलाई भेटी बस व्यवसायीको मनपरी भाडा दर घटाउन आग्रह गरेका हुन् ।

यस्तै त्रिशूली–गल्छी सडक खण्डमा पनि माइक्रो तथा बस व्यवसायीले प्रतिव्यक्ति रु ५० बढी भाडा असुलेका छन् । सरकारी मापदण्ड अनुसार त्रिशूलीदेखि गल्छीसम्मको पक्की सडकको भाडा रु ५० भए पनि व्यवसायीले रु एक सय असुल गरिरहेका छन् । प्रजिअ बस्नेतले बढी भाडा लिने व्यवसायीलाई कारवाही गर्न र तत्काल तोकिएको भाडा दरमा यातायात सञ्चालन गर्न प्रशासनले कदम चाल्ने आश्वासन दिए ।