३ असोज, जाजरकोट । सडक सुविधा नहुँदा दैनिक बिरामीलाई डोकामा बोकेर स्वास्थ्य संस्थामा ल्याउनुपर्ने बाध्यता छ ।

ग्रामीण्ँ क्षेत्रमा सडक सुविधा नभएका कारण बिरामीलाई डोकामा बोकेर सदरमुकाम पुर्याउन घण्टौँ लाग्छ । “बिरामीलाई जति सक्दो चाँडो स्वास्थ्य संस्थामा पुर्यानुपर्ने हो,” डोकामा बोकेर ल्याउँदा समय लाग्छ, कतिपय समयमा स्वास्थ्यकर्मीले ढिलो भयो, यहाँ सकिन्न भन्छन् । समयमा स्वास्थ्य संस्था पुर्याउन नसक्दा कतिपय बिरामीको बाटामै ज्यान जाने गरेको खगेनकोटका हरिबहादुर नेपाली बताउँनुहुन्छ ।

सदरमुकाममा सात वर्ष अघि सडक यातायात पुगेको हो । जिल्लाका ३० मध्ये दुई दर्जन गाविस सडक यातायातबाट वञ्चित छन् । सदरमुकामबाट अन्य गाविसलाई सडक सञ्जालसँग जोड्ने काम हुन सकेको छैन । भौगोलिक विकटता र सडक यातायातको अभावले जिल्लाको स्वास्थ्यसेवा प्रभावित भएको छ । ग्रामीण क्षेत्रका महिला सुरक्षित सुत्केरी सुविधाबाट समेत वञ्चित छन् । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजाने सुविधा छैन । विकट गाविसमा स्टेचर नभएर बिरामीलाई डोकामा बोक्ने गरिएको स्थानीयवासी बताउँछन् ।

गाउँसम्म सडक सुविधा नहुँदा धेरैको समयमा उपचार नपाएर मृत्यु हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “समयमा उपचार पाए बाँच्ने सम्भावना भए पनि कतिपयको उपचार नपाएर ज्यान जान्छ”। उपचारका लागि जिल्ला अस्पताल खलङ्गा आउनेमध्ये ९० प्रतिशत डोको र स्टेचरमा आउने गरेको अस्पतालको भनाइ छ ।

समयमा बिरामीलाई पुर्याउन नसक्दा अस्पतालको ढोकामा समेत मृत्यु हुने गरेको छ । जिल्ला अस्पतालमा एम्बुलेन्स भए पनि सडक सुविधाको अभावमा थन्किएर बसेको छ ।