२२ कार्तिक, चितवन । नेकपा-माओवादीले कार्यकर्ता पक्राउको विरोधमा आजका लागि आव्हान गरेको चितवन बन्द फिर्ता गरेको छ ।

एकीकृत नेकपा (माओवादी) का नेता तथा चितवन क्षेत्र नं ५ का उम्मेदवार अमिक शेरचन चढ्ने गाडीमा आक्रमण गरेको आरोपमा चितवन प्रहरीले नेकपा–माओवादीका ५ नं क्षेत्रीय इन्चार्जलाई पक्राउ गरेपछी त्यसको विरोधमा पार्टीले बन्दको आव्हान गरेको थियो । पार्टीले आफ्ना कार्यकर्ता रिहा गरेको भन्दै बन्द फिर्ता लिएको जनाएको छ ।

नेकपा–माओवादीका अर्का क्षेत्रीय इन्चार्ज नारायण शर्माले कार्यकर्ता छाडेकाले बन्द फिर्ता लिएको जनाए । दुई दिनअघि नेता शेरचनले प्रयोग गरिरहेको बा ९ च ७६६७ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आक्रमण गरेको थियो । घटनामा नेकपा–माओवादीको संलग्नता हुनसक्ने भएकाले सोधपुछका लागि गोर्खालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।