४ वैशाख, एजेन्सी ।

नेपाल र चीनले आतंकवादलाई मध्यनजर राख्दै आइतवार आफ्नो संयुक्त सैन्य अभ्यास सुरु गरेको छ । सैन्य अभ्यास सुरु भएपछि दक्षिण एसियामा बेइजिङको बढ्दो प्रभाव देखेर भारत चिन्तित बनेको छ । दुई देशको सैन्य अभ्यासले भारतलाई असहज हुने भारतीय मिडियामा खबर छापिएका छन्।

नेपाली सेनाका अनुसार १० दिवसीय सैन्य अभ्यास २५ अप्रिलसम्म चल्नेछ । यो संयुक्त सैन्य अभ्यास आतंकवादको विरुद्ध गरिइको बताइएको छ ।

चाइनिज पिपुल्स लिबरेशन आर्मीको एक टिम संयुक्त अभ्यासको लागी आइतबार नै काठमाडौ आइपुगेको छ । नेपालले लामो समय देखि भारतीय र अमेरिकी सेनासंग साझा सैन्य अभ्यास गर्दै आएको थियो ।

सेनाका प्रवक्ता झंकर बहादुर कडायतको अनुसार नेपाली सेनासंग सुरुमा सानो संख्यामा चिनियाँ सेनाको अभ्यास हुनेछ। अभ्यासमा सहभागी हुने सेनाको संख्या भने बताइएको छैन । सैन्य अभ्यास महाराजगन्जस्थित प्रशिक्षण केन्द्रमा भइरहेको छ ।

चिनिया रक्षामन्त्री चांङ वानगुआनको २४ मार्चमा भएको नेपाल भ्रमणको क्रममा साझा सैन्य अभ्यास प्रस्ताव गरिएको थियो।