९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् ।

उनले भने,‘बैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन्।’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले बैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन् ।

उनले आयोगले बैशाख ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए । उनले भने,‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’

यद्धपी उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । उनले आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले निकासको लागि दलहरुसँग आफूले पहल गरिरहेकोबारे आफूलाई जानकारी दिएको यादवले बताए ।