१० असार, काठमाडौं । आफूले लगाएको गम्छामाथि आचारसंहिता उल्लंघन भएको भन्दै पत्रकारले प्रश्न उठाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिप्रश्न गरेका छन् ।

बिराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सूर्य चिन्ह अंकित गम्छा लगाउनु आचारसंहितको उल्लंघन भएन ? भनेर पत्रकारले प्रश्न सोधेपछि ओलीले प्रतिप्रश्न गर्दै भने, ‘हाम्रा विरोधीले पहिले नै सूर्य नदेखियोस् भनेर असार १४ मा चुनाव सारे, अब यो गाम्छा मैले छपाएको हो र ? मैले लगाए चुनाव चिन्ह पो रहेछ ।’

उनले आचारसंहिता विपरीत घाम लाग्यो भनेर कराउनेलाई आफूले केही भन्न नसक्ने बताए । अब आचारसंहिता बिपरित घाम लाग्यो भनेर सूर्य छेक्न मिल्छ र ? ओलीले प्रतिप्रश्न गरे ।

उनले सत्तारुढ दलहरुले आचारसंहितको चरम उल्लंघन गरेको आरोप लगाए । अर्को प्रसङ्गमा ओलीले राष्ट्रहित विपरितका मुद्दा हटाएर निर्वाचन पछि जनता र देशका लागि उपर्युक्त हुने गरी संविधान संशोधन हुने बताए । ओलीले भने, ‘सरकारले एकलौटी गरेर हुँदैन वृहत छलफल हुनुपर्यो ।’

एमालेकै अडानका कारण संविधान संसोधन संसदमा अघि बढ्न सकेको छैन ।