२९ मंसिर, ताप्लेजुङ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित त्यहाँ पुगेका हुन् । छोरा, बुहारी र नातीसहित गएका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गरेका थिए ।

भेटघाटका क्रममा उनले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकजमै टुङ्गो लगाएर अघि बढ्ने बताए । समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा उनको जोड थियो । केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ ।

पौडेल पक्षले यसअघिको बैठक बहिस्कार गरेपछि काँग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो । हेलिकप्टरमार्फत पाथीभराको दर्शनका लागि यहाँ आउनुभएका नेता पौडेल दर्शनपछि विराटनगर फर्किएको बताइएको छ ।रासस