७ माघ, एजेन्सी । केही दिन अघि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले राखेको बढीमा दुईमात्र बच्चा जन्माउने प्रस्तावको विषयमा भारतको एक सिया संगठनका अध्यक्ष वसीम रिजवीले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले देशको आवादी नियन्त्रणको लागि बढीमा दुई बच्चामात्र जन्माउने कुरा देशको लागि एकदमै राम्रो रहेको बताएका छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उत्तर प्रदेश शिया वक्फ बोर्डका अध्यक्ष वसीम रिजवीले भनेका छन्, ‘केही मानिसहरुले बच्चा जम्माउनु भगवानको प्रक्रिया भएकोले यसलाई रोक्न नहुने बताउँदै आएका छन् । तर जनावरजसरी बच्चा जन्माउनु समाज र देशको लागि हानिकारक छ । जनसंख्यामा नियन्त्रण लिनको लागि देशमा बढीमा दुई बच्चामात्र जन्माउने कानुन बनाउनु जरुरी छ ।’

केहीदिन अघि उत्तर प्रदेशमा भएको एक सार्वजनिक कार्यक्रममा पनि राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतले स्वयंसेवक संघको अबको प्रमुख कार्यक्रम देशमा बच्चा जन्माउने विषयमा कानुन लागू गराउनु भएको अभिव्यक्ति दिएका थिए । योजना आरएसएसको भएता पनि यसको निर्णय सरकारले लिनु जरुरी भएको भागवतको तर्क छ ।