१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा जिम्बावेविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ ।

जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल १२ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ६३ रनमात्रै बनाएको छ । नेपालका आरिफ शेख २५, कप्तान पारस खड्का १२, कुशल मल्ल ५ र दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट हुँदा पवन सर्राफ शून्य रनमा पेभेलियन फर्किए ।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

नेपालका सन्दिप लामिछानेले २, सोमपाल कामीले २, कप्तान पारस खड्का र अविनाश बोहोराले एक÷एक विकेट लिए ।