३० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको चिठी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले डस्टबीनमा मिल्काइदिएका छन् ।

कुर्द विद्रोहीमाथिको सैन्य कारबाही रोक्न आग्रह गर्दै ट्रम्पले एर्दोगानलाई चिठी पठाएका थिए । सिरियाबाट आफ्नो सेना फिर्ता गरेका ट्रम्पले टर्किस समकक्षी एर्दोगानलाई ८ दिनअघि यो चिठी पठाएका थिए ट्रम्पले “अर्घेल्याइँ नगर्न र मुर्ख नबन्न” भन्दै कारवाही रोक्ने आग्रह चिठीमा गरेका थिए । जवाफमा एर्दोगानले ट्रम्पको अनुरोध अस्वीकार गर्दै चिठी नै डस्टबिनमा मिल्काइदिएका हुन् ।

ट्रम्पको चिठी प्राप्त भएको भोलिपल्टै टर्कीले कुर्दिस विद्रोहीविरुद्ध कारबाही चलाएको थियो । ‘हामी एउटा समझदारी बनाऔं, तपाईं पनि आफूमाथि हजारौं मान्छेको हत्या गरेको बात लागोस् भन्ने चाहनुहुन्न, म पनि टर्किस अर्थतन्त्र ध्वस्त पारेको आरोप झेल्न चाहन्न, जुन मैले गर्नुपर्नेछ,’ ट्रम्पको चिठीमा भनिएको थियो, ‘तपाईंले ठीक र मानवीय कार्य गर्नुभएमा इतिहासले सम्मान गर्नेछ, अन्यथा तपाईं दानव ठहरिनुहुनेछ।’

सिरियाबाट सेना फिर्ता गरेको विषयमा ट्रम्पले चर्को आलोचना खेपिरहेका छन्।