११ भदौं, काठमाडौं । नेपाल टे«ड युनियन कांग्रेस स्वतन्त्रकोे आइतबारबाट चितवनको रत्ननगरमा सुरु भएको पाँचौं महाधिवेशनमा नेतृत्वका लागि आज मतदान सुरु भएको छ ।
अध्यक्षसहित ३७ जनाको नयाँ कार्यसमिति चयन हुने पाँचौ महाधिवेशनको अध्यक्ष पदमा खिलानाथ दाहाल र पुष्कर आचार्यले उम्मेद्वारी दिएका छन् । दाहाल देउवा पक्षका हुन् भने आचार्य संस्थापन पक्षका । उनीहरुको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छ । २०४७ सालको निर्वाचनपछि २२ वर्षसम्म नेतृत्वमा रहेका लक्ष्मणबहादुर बस्नेतले नेतृत्व छाड्ने भएपछि नयाँ नेतृत्वको लागि संस्थापन पक्ष र देउवापक्षबीच तछाडमछाड नै चलेको सहभागीहरु बताउँछन् । दुवै तर्फबाट प्यानल घोषणा गरी चुनावी प्रचारमा व्यस्त छन् ।
बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्मको लागी मतदान समय छुट्याइएको निर्वाचन अधिकृत राजेश्वर अधिकारीले जानकारी दिए ।
१४ पदाधिकारीसहित ३६ पदका लागि हुन लागेको निर्वाचनमा एक सय ६३ जनाको उम्मेद्वारी परेको छ । अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा रामजी कँुवर, कृष्णप्रसाद पौडेल र रीता खनालको उम्मेदवारी परेको छ ।