११ भदौ, महोत्तरी । महोत्तरीको सोनौल गाविसमा सोमबार प्रहरी र स्थानीयबीच नदी खन्ने क्रममा दोहोरो झडप हुँदा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

झडपमा सोनौल–९ का राजकिशोर यादव, भजन राय, रामस्नेही ठाकुर, रामभजन यादव, राजा यादव, वौएलाल साह, सन्तोष साहसहित १२ जनाभन्दा बढी व्यक्ति घाइते भएका हुन् । घाइतेहरुको बलबा तथा सरपल्लाकोका विभिन्न निजी स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

सोमबार महोत्तरीको पुरानो पुरिसकेको जङ्गहा नदीलाई उत्खनन र नदी फर्काउने कार्यका लागि सोनौल गाउँमा निजी जमिन खन्न लाग्दा स्थानीयवासीले विरोध गरेपछि प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।

जिल्लाको बलबा, मनरा, रामगोपालपुर र इटहर्वाबाट गएका प्रहरी र स्थानीयबीच नदी खन्ने क्रममा भएको विवादले झडपको रुप लिएको हो ।

सोमबार अबेर साँझसम्म भएको सो झडपमा स्थानीयवासीले दुईवटा नम्बर नखुलेका ट्र्याक्टरमा तोडफोडसमेत गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले ४/५ घण्टा लामो दोहोरो झडपलाई साम्य पारी वार्ताबाट समस्या समाधान गर्ने प्रतिबद्धता जारी गरेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुर धनुषाको रु २० लाखको लागतमा वर्षौंदेखि पुरिएको जङ्गहा नदीलाई पुनः जीर्णोद्धार गरिने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

यसैबीच, महोत्तरीको धीरापुर गाविस वडा नं ६ मा अवस्थित धीरापुर प्राथमिक विद्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

अज्ञात समूहले प्रधानाध्यापकको कार्यालय कोठामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नेत्रप्रसाद बरुवालले बताउनुभयो ।

राति करिब २ बजे गरिएको सो आगजनीमा परी सो विद्यालयको दराज, किताब, आवश्यक कागजातसहित प्राधानाध्यापकको कार्यालयसमेत गरी रु चार लाख मूल्यबराबरको सरसामान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक बरुवालले बताए । घटनामा संलग्न रहेकाहरुको व्यापकरुपमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । रासस