५ भदौ, काठमाडौं ।

लगातार भाउ बढ्दो क्रममा रहेको अमेरिकी डलर नेपाली रुपैंयाँसँग थप मजबूत भएको छ । अघिल्लो सातासम्म एक सय ३ रुपैंयाँको हाराहारीमा रहेको एक अमेरिकी डलरको विक्रीदर उच्च वृद्धिले एकसय ६ रुपैंयाँको हाराहारीमा पुगेको हो । डलर बलियो हुँदा आयातमुखी अर्थतन्त्र रहेको नेपालको नोक्सान बढ्छ ।

लगातार उकालो लाग्ने क्रममा रहेको अमेरिकी डलर रुपैंयाँसँग थप मजबूत भएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक प्रतिअमेरिकी डलरको बिक्रिदर एकसय ५ रुपैंयाँ ६० निर्धारण गरेको छ । यो विक्रीदर अघिल्लो दिनको भन्दा ६० पैसाले बढी हो । वाणिज्य बैंकहरुले भने प्रतिडलर एक सय ८ रुपैंयाँसम्मको विक्रीदरमा कारोबार गरेका छन् । डलरको यो भाउ दुईवर्षयताकै उच्च हो । पछिल्लो एक सातामा प्रतिडलर विनिमयदर रुपैंयाँसँग १ रुपैंयाँ १० पैसा बढी निर्धारण भएको छ । वाणिज्य बैंकहरुले भने प्रतिडलर १ सय ८ रुपैंयाँसम्मको विक्रीदरमा डलरको कारोबार गरेका छन् ।

dolor us

यसअघि दुईहजार सत्तरी साल भदौ २० गते १ सय १० रुपैंयाँसम्म पुगेको प्रतिडलर विक्रीदर त्यसपछिको अवधिमा ९६ रुपैंयाँदेखि ९८ रुपैंयाँको हाराहारीमा रहेको थियो । पछिल्लो तीनमहिनायता प्रतिडलर विक्रीदर १ सय २ रुपैंयाँको हाराहारीमा रहनपुगेको थियो । त्यसपछि उकालो लागेको डलरको भाउ दुईवर्षअघिकै अवस्थामा उच्चदरमा पुग्ने हिसावले बढेको छ ।अमेरिकी रोजगारीमा सुधारसँगै अर्थतन्त्र सबल हुन थालेपछि डलर मजबूत बनेको छ ।

अमेरिकी अर्थतन्त्रमा आएको सुधारका साथै स्थिर विनिमयदर रहेको भारतीय रुपैंयाँ कमजोर रहेकाले नेपाली रुपैंयाँ अमेरिकी डलरसँग स्वतः कमजोर भएको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैंयाँकै आधारमा तय हुनेगरेको छ । करीब १५ बर्षदेखि एक सय भारु बराबर एक सय ६० नेपाली रुपैयाँ स्थिर विनिमयदर निर्धारण गरिएको छ ।नेपालको हकमा भने डलरको भाउ वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ ।

बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आय समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । तर रुपैंयाँसँग डलर बलियो हुँदा आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ । भारतबाहेकका देशबाट आयात गरिने मोटर, मोबाइल, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामग्री डलरको भाउ बढेसँगै महँगो पर्छ । चीनबाट आउने सस्ता सामानको भाउमा समेत यसले असर पर्नेछ ।

त्यसैगरी डलरको भाउ बढ्दा कूल आयातको २८ प्रतिशत रहेको पेट्रोलियम पदार्थ खरीद, डलरमा ऊर्जा खरिद गरिएका जलविद्युत आयोजनालाई भुक्तानी र विदेशी ऋण तथा साँवा भुक्तानीमा समेत भार थपिन्छ । त्यस्तै अध्ययन, उपचार, भ्रमण विभिन्न सिलसिलामा विदेश जानेहरुको पनि खर्च बढ्नेछ । आयातमुखी अर्थतन्त्र भएका कारण अमेरिकी डलर बलियो हुँदा नेपाललाई लाभ भन्दा नोक्सान बढी हुन्छ ।